आयोजक भद्रपुर ब्लेजर्सलाई भद्रपुर झापा गोल्डकपको उपाधि 

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १६, शुक्रबार १९:१२

झापा । आयोजकको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ ।  

जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्काे झापाली टोली झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधि चुमेको हो ।

उपविजेतामा चित्त बुझाएको झापा ११ ले नगद ७ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ ।

खेलको ३० औं मिनेटमा अग्रता लियो । डिबक्स बाहिरबाट मिलन राईको सर्टपासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष चापागाईंले बललाई जाली चुमाउँदै टिमलाई १–० ले अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा भद्रपुरका सत्यम् शर्माले गोल गर्दै टिमको जित निश्चित बनाए । अवयोमीको हेड बललाई २५ यार्डको दूरीबाट कडा प्रहार गरेर शर्माले जाली चुमाएका थिए ।

दुवै टिमलाई घरेलु दर्शकको समर्थन रहेको खेलको १४ औं मिनेटमा भद्रपुरका विवेक पौडेलको प्रहार क्रस बारबाट बाहिरियो । खेलको ४० औं मिनेटमा भद्रपुरका कुलदीप कार्कीको लङ प्रहारमा विदेशी खेलाडी अवयोमीको हेडरलाई झापाका गोलकिपर सन्दीप लिम्बूले बचाए ।

फाइनल खेलको प्लेयर अफ म्याच भद्रपुरका विशाल दर्जीले २१ हजार र ट्रफी पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्ट भद्रपुरका कप्तान आशिष चापागाईंले १ लाख ५ हजार र ट्रफी पाए ।

उदयमान खेलाडी भद्रपुरका राजेश शाह, उत्कृष्ट गोलकिपर भद्रपुरका टेकेन्द्र थापा, उच्च गोलकर्ता भद्रपुरका सत्यम् शर्मा र बेस्ट कोच भद्रपुरका सचिन्द्र धिमाल भए । उनीहरूले जनही २५ हजार पुरस्कार र ट्रफी पाए ।

फाइनल खेलमा टिकट लिएका भाग्यशाली दर्शकहरूमा भोजपुरका दर्शक एन्जल चर्मकारले टीभीएस राइडर मोटरसाइकल पाए । सुनको सिक्री भद्रपुरका विक्रम बराल, ५० हजार नगद भद्रपुरका राजेशकुमार गुप्ताले पाए ।

विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीलगायत समितिका सदस्य, पुरस्कार दाता चण्डीराज ढकाल, हेमराज ढकाल, टीकाराज ढकाल, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.