विराटनगरमा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता सुरु

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १९, सोमबार ०८:३७

विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता विराटनगरमा सुरु भएको छ ।

विराटनगरको दुईवटा मैदानमा आइतबार भएको खेलमा मोरङ र सुनसरी विजयी भएका छन् । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले उदयपुरलाई १० विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको उदयपुर निर्धारित ४३ ओभरको खेलमा ३५ दशमलव २ बलमा सबै विकेट गुमाएर ७६ रनको सामान्य रनमा सीमित भएको छ ।

उदयपुरका लागि प्रभात किरणले सर्वाधिक २६ रनको योगदान दिए । मोरङका ‘प्लेयर अफ म्याच’ प्रेम कामतले ५ विकेट लिँदा दिपेश कँडेल र मिनष थापाले २–२ विकेट लिए । ७७ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १५ ओभरमा विना क्षति सो लक्ष्य पार गरेको थियो । मोरङको जितमा सकिवहकले अविजित ३६ रन बनाउँदा चिराग साहले अविजित ३१ रनको योगदान दिए ।

त्यस्तै, मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले इलामलाई ३८ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सबै विकेट गुमाई ९२ रनको सामान्य योगफल बनायो । सुनसरीका लागि सुमन घतानीले सर्वाधिक ४२ रनको योगदान दिए । ‘प्लेयर अफ म्याच’ इलामका हेमन राई ७ विकेट लिए ।

९३ रनको विजयी लक्ष्य पाएको इलाम १७ दशमलव २ बलमा सबै विकेट गुमाएर ५४ रनमा सीमित भयो । इलामका शिवान्स बजगाईंले सर्वाधिक १६ रनको योगदान दिए । सुनसरीका प्रकाश खत्रीले ४ विकेट लिँदा भुपाल लुइँटेलले पनि ४ विकेट लिए ।

लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरेर ५ टिम सहभागी रहेको कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले बताए । बिहीबारसम्म हुने खेलमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई प्रधानमन्त्री कप–२०८१ का लागि छनोट गरिने जानकारी उनले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.