
इलाम । इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको मंगलबार भएको खेलमा एपीएफले भारत, युपीको मदर टेरेसा फुटबल क्लबलाई एकका विरुद्ध १४ गोलले पराजित गरेको छ । जितसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेल सुरु हुनासाथ एपीएफले विपक्षीलाई निकै दबाबमा राखेको थियो । पहिलो हाफको छैटौं मिनेटमा अनिता बस्नेतको पासलाई सदुपयोग गर्दै अनिता केसीले पहिलो गोल गरिन् । खेलको १२ औ मिनेटमा मदर टेरेसाको तर्फबाट प्रतीज्ञा क्षेत्रीले गोल गरिन् ।
एपीएफले पहिलो हाफमा नै ६ गोल गरेको थियो । एपीएफकी रश्मि कुमारी घिसिङले दोस्रो हाफमा थप ४ गरिन् । कप्तान अनिता बस्नेतले दोस्रो हाफमा थप २ गोल गर्दै व्यक्तिगत ५ गोल गरिन् । दोस्रो हाफको २५आंै मिनेटमा एपीएफकी डिफेन्स मनमाया दमाईले थप एक गोल गरिन् ।
अन्तिम समयमा कुसुम खतिवडाले गोल गर्दै अग्रता फराकिलो पारिन् । मंगलबारको खेलमा वुमन अफ द डे एपीएफकी रश्मिकुमारी घिसिङ घोषित भइन् । उनले नगद ५ हजारसहित ट्रफी पाइन् । एपीएफको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा विभागीय टोलीहरु नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ र आयोजक सेमिफाइनल पुगिसकेका छन् ।
भोलि बुधबार पहिलो सेमिफाइनल खेल आयोजक ओएसिस क्लब इलाम र विभागीय टोली त्रिभुवन आर्मीबीच खेल हुनेछ ।



















