
विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा प्रथम कोशी प्रदेशस्तरीय अन्तरक्रिकेट प्रतियोगिता विराटनगरमा सोमबारदेखि सुरु भएको छ ।
वैजनाथपुर क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा विराटनगरस्थित अरनिको कलेज र ग्रीनल्याण्ड कलेज विजयी भइ सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा अरनिको कलेजले इनरुवाको स्मल हेभेन एकाडेमीलाई ८३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २५ रनको स्कोर बनाएको थियो । अरनिकोको जितमा महमद आलमले ३५ रन बनाउँदा अमन यादव २६ रनमा अविजित रहे । स्मल हेभेनका समीम मन्सुरीले ३ विकेट लिए ।
१ सय २६ रनको लक्ष्य पछ्याएको स्मल हेभेन १३ दशमलव ३ बलमा सबै विकेट गुमाएर ४२ रनमा सीमित भयो । स्मल हेभेनका लागि दुवे यादवले सर्वाधिक १२ रनको योगदान दिए । प्लेयर अफ दी म्याच अरनिकोका अमन यादवले ४ विकेट लिए ।
दोस्रो खेलमा ग्रीनल्याण्ड कलेजले दमकको आस्था कलेजलाई १ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आस्थाले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सबै विकेट गुमाएर ९६ रनको स्कोर बनाएको थियो ।
आस्थाका भूपाल दैगाल सर्वाधिक २६ रनमा अविजित रहे । प्लेयर अफ दी म्याच ग्रीनल्याण्डका गौरीशंकर माझीले ४ विकेट लिए ।
९७ रनको लक्ष्य पछ्याएको ग्रीनल्याण्डले १९ दशमलव ३ बलमा १ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । ग्रीनल्याण्डको जितमा सन्दीप शर्माले सर्वाधिक २५ रनको योगदान दिए । आस्थाका सुयोग भट्टराईले ४ विकेट लिए ।
फागुन २८ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका ६ टिम सहभागी रहेको हिसान कोशीका अध्यक्ष ज्ञानबहादुर खड्काले बताए । हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले एम्पायर भास्कर अर्याललाई क्रिकेट बल दिएर प्रतियोगिताको उद्घाटन गरेका थिए।




















