
झापा । झापाको मेचीनगरमा जारी ५ औं मेचीनगर गोल्डकपमा मंगलबार (आज) अन्तिम क्वाटरफाइनल मछिन्द्र एफसी र एपीएफबीच खेल हुँदैछ ।
काँकरभिट्टा खेल मैदानमा काठमाडौंको ‘ए’ डिभिजन क्लब मछिन्द्र र विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ बीच खेल हुनेछ ।
दुवै टोलीमध्ये एकले अन्तिम ४ मा फाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गर्ने छ ।
यसअघि सोमबार भएको खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पराजित गर्दै धरान एफसी सेमिफाइनलमा प्रवेश गरिसकेको छ । धरानले पहिलो सेमिफाइनलमा आयोजकसँग खेल्ने छ ।
चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउने छ भने उपविजेताले ५ लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् ।
उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।



















