
विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा सम्पन्न प्रथम कोशी प्रदेशस्तरीय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ ।
विराटनगरको वैजनाथ क्रिकेट मैदानमा बुधबार सम्पन्न फाइनलमा विराटनगरकै ग्रीनल्याण्ड कलेजलाई ६४ रनले पराजित गरेर अरनिकोले उपाधि रक्षा गरेको हो । माघ १५ गते सम्पन्न मोरङ हिसान क्रिकेट प्रतियोगिताको फाइनलमा पनि अरनिकोले ग्रीनल्याण्डलाई नै पराजित गरेको थियो ।
प्रदेशस्तरीय अन्तर क्रिकेटको अन्तिम स्पर्धामा टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रनको स्कोर बनाएको थियो । अरनिकोका सोनु साहले ४४ रन बनाउँदा नुमिर अहमदले ३६ रन र सौरभ झाले २३ रनको योगदान दिए ।
ग्रीनल्याण्डका गणेश यादवले ३ विकेट लिँदा सुनील यादव र गौरीशंकर यादवले २–२ विकेट लिए । १ सय ४४ रनको लक्ष्य पछ्याएको ग्रीनल्याण्ड निर्धारित १८ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै ७९ रनमा सीमित भयो । ग्रीनल्याण्डका हेमन्त मेहताले १८ रन बनाउँदा सुनील यादवले १३ रनको योगदान दिए । अरनिकोका रामनारायण यादवले ३ विकेट लिँदा अमर यादवले पनि ३ विकेट लिए ।
फाइनल खेलको प्लेयर अफ दी फाइनल अरनिकोका नुमिर अहमद घोषित भए । प्लेयर अफ टुर्नामेन्ट ग्रीनल्याण्डका गणेश यादव भए । त्यस्तै, उत्कृष्ट ब्याटर अरनिकोका रुद्रप्रताउ साह घोषित हुँदा उत्कृष्ट बलर अरनिकोकै अमर यादव घोषित भए ।
फागुन २६ गतदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका ६ टिमको सहभागिता थियो । विजयी हुनेहरुलाई प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखेल, हिसान कोशी अध्यक्ष ज्ञानबहादुर खड्का र हिसान मोरङका पूर्वअध्यक्ष बलराम पन्तलगायतले ट्रफी तथा प्रमाण पत्र वितरण गरे ।



















