भाषा लोप हुने चिन्ता छैन ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र ४, सोमबार १७:००

२०७८ सालको जनगणनाअनुसार नेपालमा १ सय २४ भाषाहरू मातृभाषाको रूपमा बोल्ने गरिन्छ । त्यसैले त भनिन्छ, ‘नेपाल बहुभाषिक मुलुक हो ।’ सरकारी कामकाजको भाषा नेपाली भए पनि भाषाका हिसाबले धेरै विविधता छ । भाषा मुलुकको शक्ति हो, जातिको पहिचान । सबै समुदायको आ–आफ्ना भाषा छन् । नेपालमा धेरै मातृभाषा भए पनि ती लोपोन्मुख अवस्थामा छन् । यो विषयमा सरकारले खासै चासो दिएको पाइँदैन ।

विद्वान् मायर र बेन्डे भन्छन्, ‘प्रत्येक दुई हप्तामा विश्वबाट एउटा भाषा लोप हुन्छ ।’ यसको मतलव विश्वमै भाषा लोप हुने क्रममा छन् । भाषा लोप हुनु भनेको अलिखित साहित्यभित्रको जातीय गौरव, परम्परा, अस्तित्व र सांस्कृतिक गरिमा पनि लोप हुनु हो । यो विषयमा नेपालका तीनै तहका सरकार गम्भीर हुन आवश्यक छ ।

नेपालको संविधानले देशमा बोलिने भाषाहरूलाई राष्ट्रभाषा हुन् भन्दै सम्पूर्ण भाषालाई समान महत्व दिएको छ । संविधानको धारा ७ (२) मा प्रदेश स्तरमा राष्ट्रभाषालाई सरकारी काम काजमा राख्न सकिने व्यवस्था गरेको छ । तसर्थ, सबै भाषा समान होउन र सबै भाषा महान् बनुन् भन्ने उद्देश्य राखिएको छ । सबै भाषाको संरक्षण, सम्प्रवर्धन र विस्तारको योजना बनाएर भाषाभाषीमा आत्मसम्मान जागृत बनाउन जरुरी छ ।

बहुभाषिक देशमा भाषालाई सामाजिक सम्पदाको रूपमा जीवित राख्न सरकारी तहबाट पहलकदमी लिन आवश्यक छ । केही स्थानीय तहले स्थानीय भाषाको संरक्षण गर्न कामकाजको भाषाको रूपमा पनि मान्यता दिएका छन् । विद्यालयमा पठनपाठनका लागि अनुमति दिएका छन् । यस्ता उदाहरणीय कामले भाषाको संरक्षणमा महत्वपूर्ण टेवा पुगेको छ ।

नेपालका विकट गाउँहरूमा केही भाषाहरू आजसम्म उचित किसिमले सूचीकरण नभएको स्थिति कायमै छ । नेपालमा के कति मातृभाषाहरू छन्, तिनीहरूको उचित किसिमले सूचीकरण गर्नुपर्ने र मातृभाषाहरूको पहिचान गर्नुपर्ने आवश्यकता अझै पनि छ ।

भाषालाई पहिचानसँग पनि जोडिन्छ । त्यसकारण आफ्ना पुर्खाको भाषालाई समेत मातृभाषा भनेको पाइन्छ । बालबालिकालाई उनीहरूले बुझ्ने भाषामा पढाउँदा सजिलैसँग सिक्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले मातृभाषाको बेग्लै महत्व छ । युनेस्कोले १९५३ मा बालबालिकालाई सिकाउने उत्तम उपाय उनीहरूको मातृभाषामा पढाउनु हो भनेको छ । मातृभाषामा शिक्षा दिँदा बालबालिकाले राम्रोसँग सोच्न सक्ने क्षमतामा वृद्धि गर्न सक्छ ।

नेपालका भाषाहरूका बारेमा विभिन्न स्वदेशी तथा विदेशी अनुसन्धानकर्ता तथा संस्थाबाट अध्ययन–अनुसन्धान भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले पनि केही भाषामा अध्ययन–अनुसन्धान गराउँदै त्यसको प्रकाशनसमेत गर्दै आएको छ । त्यसका अतिरिक्त आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले समेत यसतर्फ सक्रियता देखाएर केही भाषाका व्याकरण र शब्दकोश निर्माणको काम गरिरहेको छ ।

नेपालमा बोलिने भाषाका तथ्यांकहरू विदेशका केही स्थानमा अभिलेख राखिएको छ । मदन पुरस्कार पुस्तकालयले राउटे भाषाका केही पाठहरूको अभिलेख राखे पनि नेपालभित्र डिजिटल अभिलेख राख्ने केन्द्र छैनन् । ‘युनिभर्सिटी अफ लन्डनको लोपोन्मुख भाषाहरूको अभिलेखमा नेपालका थुप्रै भाषाका तथ्यांक संग्रृहीत छन् । यसरी नै नेपालमा पनि भाषालाई संग्रृहीत गर्दै भाषा शिक्षा दिनुपर्छ ।

नेपालमा बोलचाल र प्रयोगमा जति भाषाहरू छन्, ती सबै भाषाहरूको जगेर्ना, उत्थान र विकास गर्न राज्यको तहबाट पहलकदमी लिन जरुरी छ । किनकि भाषा जातिको परिचायक हो, पहिचानको मूल आधार हो । भाषा र भूमिको अन्त्य भयो भने पहिचानको पनि लगभग अन्त्य हुन्छ । आफ्नो भाव अभिव्यक्त गर्न भाषाको सहारा लिन पाउने प्रत्येक नागरिकको अधिकार छ ।

आधुनिक नेपालको निर्माणसँगै नेपाली भाषाले साझा सम्पर्क र सरकारी कामकाजको भाषाको रूपमा मान्यता पाए पनि अन्य भाषाको आफ्नै महत्व र मौलिकता छ । भाषा नीति, मातृभाषामा शिक्षा, भाषा संरक्षण र भाषाका अध्ययन–अनुसन्धानलाई समन्वयात्मक र एकीकृत किसिमले अध्ययन–अनुसन्धान नै अहिलेको आवश्यकता हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.