कोशीको खेलकुद महोत्सव : ‘सबै प्रदेशलाई नयाँ सन्देश’

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र ६, बुधबार १९:४०

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले पहिलोपटक आयोजना गरेको ‘प्रथम कोशी खेलकुद महोत्सव’, २०८१ भव्य रूपमा सम्पन्न भयो ।

बोर्डले फागुन १३ देखि १८ गतेसम्म महोत्सव आयोजना गरेको थियो । मुलुक संघीयतामा गएपछि खेलकुद महोत्सव आयोजना भएको यो पहिलोपटक हो । अरु प्रदेशले समेत खेल महोत्सव आयोजना गर्न सकिरहेका छैनन् ।

Advertisement

कोशीले आयोजना गरेको महोत्सवले अरु प्रदेशलाई पनि नयाँ सन्देश प्रवाह गरेको खेल क्षेत्रका अगुवा बताउँछन् । ‘मुलुकमा ७ वटा प्रदेश छन् । कोशीले खेल महोत्सवको आयोजना गर्यो । भव्य रूपमा सम्पन्न भयो । यसले सबै प्रदेशलाई नयाँ र सकारात्मक सन्देश दिएको छ । अरु प्रदेशलाई ऊर्जा दिएको छ,’ मोरङका फुटबल प्रशिक्षक प्रकाश मल्ल भन्छन् ।

कोशी खेलकुद बोर्डले खेल महोत्सवको आयोजना गरेर प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड, पुरुष कबड्डी, भेट्रान बाघचाल, महिला/पुरुष टेबल टेनिस, महिला/पुरुष बुद्धिचाल, महिला/पुरुष कराँते, महिला/पुरुष तेक्वान्दो, पुरुष सफ्टटेनिस र डोरीतानलगायत १२ वटा प्रतियोगिता सञ्चालन गरेको थियो । महोत्सव अवधिभर कोशी प्रदेश खेलकुदमय बन्यो ।

झापा, मोरङ र सुनसरीमा आयोजित प्रतियोगितामा प्रदेशभरका १ हजार बढी खेलाडी र खेल व्यवस्थापकले सहभागिता जनाएका थिए । प्रतियोगिताका लागि सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको थियो । आयोजना सम्पन्न गर्दा करिब १ करोड ६० लाख खर्च भएको छ ।

पहिलोपटक आयोजना गरिएको महोत्सवले अरु प्रदेशलाई नयाँ सन्देश दिएको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) बताउँछन् । कोशीबाट सुरु भएको प्रतियोगिताले अन्य ६ प्रदेशलाई पनि प्रतियोगिता गर्नका लागि सन्देश दिएको उनको भनाइ छ ।

‘यस्तो खालको महोत्सव कतै भएको थिएन । कोशी प्रदेशबाट सुरुवात भएको छ,’ बस्नेत भन्छन्, ‘यो वर्षबाट सुरुवात मात्रै भयो । अर्काे वर्षबाट थप व्यवस्थित रुपमा सञ्चालन हुनेछ ।’ ‘खेल गति नै खेलाडीहरुको प्रगति हो’ भन्ने मूल नाराका साथ महोत्सव गरिएको थियो ।

‘खेलकुदका गतिविधि नभएसम्म खेलकुदको विकास हुँदैन । खेलकुद गतिविधिको माध्यमबाट खेल क्षेत्रको विकास गर्नुपर्छभन्ने सन्देश दिन खोजेका छौं,’ उनले भने । अर्काे वर्ष भने महोत्सव शीर्षकमै सरकारले बजेट विनियोजन गर्ने बस्नेतको विश्वास छ । ‘यसवर्ष थालनी भयो । अर्काे वर्षबाट नियमित रूपमा अघि बढ्छ । महोत्सवले खेल पर्यटनको विकासमा पनि सहयोग गर्याे,’ उनी भन्छन् ।

राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा आयोजित खेलकुद महोत्सवमा खेलाडीले आफ्नो क्षमता प्रस्तुत गरेको उनको दाबी छ । महोत्सवले खेलाडीमा उत्साह थपेको थियो । खेलाडी उत्साहित हुँदै प्रतियोगितामा सहभागी भएका थिए । सदस्यसचिव बस्नेतका अनुसार प्रतियोगिताका लागि निजी क्षेत्रसँग पनि सहकार्य गरिएको थियो ।

‘पुरस्कार र प्रचारप्रसारमा निजी क्षेत्रले सहयोग गर्याे,’ उनले भने, ‘बोर्डले खेलका विभिन्न शीर्षकमा विनियोजन गरिएको बजेटलाई रकमान्तर गरी प्रतियोगिता गर्याे ।’ उनका अनुसार प्रतियोगिताका लागि १ करोड ६० लाख हाराहारी खर्च भएको छ ।

सरकारी बजेट भने १ करोड रुपैयाँ मात्रै थियो । अब करिब ६० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

फुटबल प्रशिक्षक मल्ल बजेटको कमी भएर पनि खेल महोत्सव सानदार रूपमा सम्पन्न भएको बताउँछन् । ‘पहिलोपटक भए पनि महोत्सव उत्कृष्ट हिसाबले सम्पन्न भयो । महोत्सव आयोजना गर्ने साहस गर्नु नै ठूलो कुरा थियो । महोत्सव अवधिभर खेलाडीलाई कुनै समस्या भएन । उनीहरुले पाउने सुविधा राम्रोसँग पाए । यसले निरन्तरता पाउनुपर्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.