विराटनगर । आयोजकको टोली लालीगुराँस स्पोर्टिङ क्लबलाई पन्छाउँदै लेटाङ फुटबल क्लब ५ औं मिल्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताअन्तर्गत बुधबार (आज) विराटनगरको जुट मिलको खेल मैदानमा भएको खेलमा लेटाङले आयोजकलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो । लेटाङका पुजन चौधरी, तेजन गुरुङ, सौगात राई र सुजन तिलवाले गोल गरे ।
आयोजकका आशिष लावती र रमेश चौधरीले गोल गरे भने विवेक राई र कैलाश बस्नेतले गरेको प्रहारलाई लेटाङका गोलरक्षक पूर्ण चेम्जोङले विफल पारे । चेम्जोङ खेलको म्यान अफ द म्याच भए ।
जितसँगै लेटाङले शुक्रबार दोस्रो सेमिफाइनलमा घरेलु टोली पेमा युवा स्पोर्टिङ क्लबसँग फाइनल यात्राका लागि खेल्ने छ ।
खेलको ४ औं मिनेटमा आयोजकका भुवन बस्नेतले गोल गर्दै अग्रता लिएको थियो । आशिष लावतीले निकालेको क्रस पासमा बस्नेतले गोल गरे । आयोजकले अग्रता लिएको १३ मिनेट बित्न नपाउँदै लेटाङले गोल गर्दै खेल बराबरीमा ल्यायो ।
लेटाङका अनुप मगरले निकालेको पासमा सागर तिवारीले गोल गर्दै खेल बराबरीमा ल्याए ।
मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो सेमिफाइनल खेल गाईघाटको फ्युजन फुटबल क्लब र इटहरीको टीएफसी तालतलैयाबीच हुने ट्रष्ट विष्णु डंगोलले जानकारी दिए ।