
धरान । सुनसरीको धरानमा जारी २५ औं संस्करणको गोधूली रनिङ कप फुटबल प्रतियोगितामा १४ नम्बर वडा विजयी हुँदै क्वार्टरफाइनलमा पुगेको छ ।
प्रतियोगिताअन्तर्गत धरानमा आइतबार राति भएको पहिलो खेलमा १४ नम्बर वडाले ९ नम्बर वडालाई २–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
१४ नम्बर वडाका लागि निमेष तामाङले खेलको १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको १० औं मिनेटमा पुनः तामाङले गोल गर्दै १४ नम्बर वडाको गोल संख्या दोब्बर बनाए ।
९ नम्बर वडाका लागि एक मात्र गोल खेलको अन्तिम समयमा लेशन राईले गोल फर्काए । खेलको म्यान अफ द म्याच १४ नम्बर वडाका निमेष तामाङ भए ।
त्यस्तै, आइतबार नै भएको दोस्रो खेलमा ४ नम्बर वडाले १ नम्बर वडालाई ४–१ को गोल अन्तरमा हराउँदै प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
४ नम्बर वडाका लागि सन्तोष लिम्बूले २ गोल गरे भने आमोस राई र आनन्द राईले १–१ गरे । खेलको ४ नम्बर वडाका आमोस राईले खेलको ५ मिनेटमा गोल गरे भने आनन्द राईले खेलको १५ औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफको ११ औं मिनेटमा सन्तोष लिम्बूको गोलमार्फत ४ नम्बर वडाले अग्रतालाई तेब्बर बनायो । १ नम्बर वडाका लागि दोस्रो हाफको १२ औं मिनेटमा सुलभ लिम्बूले सान्त्वना गोल फर्काए ।
खेलको म्यान अफ द म्याच सन्तोष लिम्बूले खेल सकिन अघि इन्जुरी समयमा गोल गर्दै टोलीलाई ४–१ को अन्तरमा विजयी बनाए ।
प्रतियोगिताअन्तर्गत सोमबार (आज) को पहिलो खेलमा १८ नम्बर वडा र १९ नम्बर वडाबीच हुनेछ भने दोस्रो खेलमा ३ नम्बर वडा र ११ नम्बर वडाबी हुने आयोजकले जनाएको छ ।
चैत २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् । २ नम्बर वडा र ७ नम्बर वडाले सहभागी छैनन् ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।



















