
विराटनगर । विराटनगरमा सुरु भएको प्रदेशस्तरीय टी– २० क्रिकेट प्रतियोगितामा इलामले रोमाञ्चक जित निकालेको छ । मोरङलाई ६ रनले पराजित गर्दै इलाम अघि बढेको हो ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा जितसँगै इमालले २ अंक जोडेको छ । इलाम यसअघि उद्घाटन खेलमा उदयपुरसँग पराजित भएको थियो ।
इलामले दिएको ११४ रनको विजय लक्ष्य पछ्याएको मोरङ निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०७ रनमा सीमित भयो । मोरङका सन्तोष चौधरीले ४० बलमा ३९ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे । मिनाष थापाले २२ बलमा ३२ रनको योगदान दिए ।
इलामका विशाल आचार्य र प्रज्जवल खत्रीले समान २–२ विकेट लिए । लभ कामतले १ विकेट लिए । ब्याटिङ गरेको इलामले १९.दशमलव ६ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो । जसमा सिवान्स बजगाईंले सर्वाधिक ३० रन बनाए । उनले २७ बलमा ५ चौका प्रहार गरे ।
इलामका लभ कामतले ३० बलमा २६ रन पारी खेल्दा सुशान्त सापकोटाले १७ बलमा १६ रनको योगदान दिए । मोरङका बलर अर्मन अली र मिनाष थापाले समान ३–३ विकेट लिए । खेलको प्लयेर अफ दी म्याच इलामका लभ कामत घोषित भए ।
कामतले नगद २ हजार ५ सय रूपैयाँ पाए । दोस्रो खेलमा सुनसरी र झापाबीच प्रतिस्पर्धा भएको छ ।



















