जुत्ता, चप्पल र औषधिमा ‘एमआरपी’ अनिवार्य, नराखे कारबाही

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १०, बुधबार १४:५६

काठमाडौं । सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई एक साताभित्र एमआरपी सहित लेबल लगाउन निर्देशन दिएको हो ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहाल सहितको टोलीले मंगलबार यी दुई संघसँग छलफल गरेको थियो । छलफलमा सात दिनभित्र एमआरपी सहितको लेबल राख्ने सहमति भएको विभागका महानिर्देशक दाहालले बताए ।

गत चैतदेखि नै विभागले एमआरपी सहित लेबल लगाउन निर्देशन गरेको भए पनि जुत्ता चप्पल र औषधिजन्य वस्तु उत्पादक तथा आयातकर्ताले उक्त निर्देशन पालना नगरेको पाइएपछि विभागले उनीहरूसँग छलफल गरेको हो । वैशाख ९ बाट ७ दिनभित्र अनिवार्य एमआरपी सहितको लेबल नराखे कारबाही गर्ने उनले बताए ।

संविधानको धारा ४४ र उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादक आफूले उत्पादन गरेका वस्तु तथा आयात गरिएको वस्तु भए आयातकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य एमआरपी लेबल लगाउनुपर्ने कानुनी व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.