
काठमाडौं । घुँडामा चोट लागेर लामा समयदेखि मैदान बाहिर रहेका क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघ (क्यान)ले आर्थिक सहयोग गर्ने भएको छ ।
२०८० जेठ १५ देखि २६ गतेसम्म मधेस प्रदेश क्रिकेट संघले जनकपुरमा आयोजना गरेको महेन्द्रनारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्ने क्रममा घुँडामा चोट लागेपछि मैदान बाहिरिएका थिए ।
सिद्धान्तले जनकपुरमा भएको प्रतियोगितामा कोशी प्रदेशबाट खेलेका थिए । गण्डकी प्रदेशविरुद्ध को खेलमा उनको घुँडामा चोट लागेको हो ।
विराटनगरका लोहनी लामो समयपछि पनि चोट मुक्त नभएपछि हाल भारतमा उपचार गराइरहेका छन् ।
क्यानले बिहीबार (आज) विज्ञप्ति जारी गर्दै भारतमा उपचार गराइरहेको क्रिकेट खेलाडी लोहनीलाई उपचारका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ ।
क्यानले ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको क्यानको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।



















