ओलम्पिक कमिटीका १६ वटा बैंक खाता रोक्का

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १२, शुक्रबार १२:४५

काठमाडौं । अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटी (एनओसी) का ९ वटा बैंकमा रहेका १६ वटा खाता रोक्का भएको छ । ग्लोबल आईएमई, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, एनएमबी र नेपाल बैंक लिमिटेडमा रहेका खाता रोक्का भएको हो ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठकले एनओसीका बैंक खाता रोक्का गर्ने र एनओसीका पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो ।

त्यसपछि युवा तथा खेलकुद मन्त्रालयले राष्ट्र गत चैत १० गते राष्ट्र बैंकलाई पत्राचार गरी एनओसीका बैंक खाताको विवरण मागेको थियो । राष्ट्र बैंकले वैशाख ३ गते एनओसीका विभिन्न नौ वटा बैंकमा १६ वटा खाता रहेको भन्दै खाताको विवरण पठाएको थियो ।

वैशाख ७ गते ती सबै बैंकमा रहेका एनओसीका खाता रोक्नका लागि पत्राचार गरिएको थियो । खाता रोक्का भयो कि भएन भनेर अनुगमन समेत गरिएको थियो । वैशाख ११ गते ९ वटै बैंकले आफू मातहत रहेका एनओसीका खाता रोक्का भएको जानकारी खेलकुद मन्त्रालयलाई गराएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.