
विराटनगर । मनमोहन मेमोरियल कप क्रिकेट (एमएम कप) प्रतियोगिताको तेस्रो संस्करणको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।
आर्मी पहिलो र दोस्रो संस्करणको विजेता हो । आर्मीले जितसँगै २ अंक बटुलेको छ ।
सुनसरी इनरुवाको मनमोहन कप फाउन्डेसनको विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला आयोजना गरेको प्रतियोगिताको पहिलो दिन आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई २ विकेटले पराजित गर्यो ।
आर्मीले टस जितेर फिल्डिङ रोज्दै पहिलो ब्याटिङको अवसर एपीएफलाई दिएको थियो । पहिले ब्याटिङ थालेको एपीएफले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३० रनको चुनौती प्रस्तुत गर्यो ।
प्रकाश जैसीले ३४ रन, भुवन कार्कीले २५ रन, दीपक बोहराले १६ रन, अभिषेक पालले १२ रन र आयुष्मान बमले ११ रन बनाए । बलिङमा आर्मीका दुर्गेश गुप्ताले ३ विकेट तथा विशाल सुस्लिङ र नरेन साउदले २–२ विकेट लिए ।
आर्मीले पाएको १ सय ३१ रन लक्ष्य ३७ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा गर्यो । नरेन साउदले ६४ रन, सुमित श्रेष्ठले २१ रन र पवन कार्कीले १० रनको योगदान गरे ।
एपीएफका दिवन पुनले ३ विकेट, भुवन कार्की र विकास अग्रीले २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच आर्मीका नरेन साउदले ४ हजार रुपैयाँ प्राप्त गरे ।
२० गतेसम्म हुने प्रतियोगितामा ३ विभागीय टोलीसहित ६ टोलीको सहभागिता रहेको छ । टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) र बागमती प्रदेश छ भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कोसी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेको छ ।
५० ओभरको खेल लिग कम नकआउटका आधारमा हुनेछ । २ समूहको शीर्ष स्थानमा रहेका २ टोलीका बीच उपाधि जितका लागि खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाखका साथै ट्रफी, मेडल प्राप्त गर्ने छन् भने व्यक्तिगत विधातर्फ प्लेयर अफ द टुर्नामेन्टले २५ हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले जनही १५ हजारका रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताअन्तर्गत आइतबार एपीएफ र बागमती प्रदेशबीच खेल हुनेछ ।



















