एमएम कप क्रिकेट : विभागीय टोली एपीएफ शीर्ष स्थानमा    

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १४, आइतबार १५:०३

विराटनगर । विराटनगरमा जारी तेस्रो मनमोहन स्मृति क्रिकेट (एमएम) प्रतियोगिताको दोस्रो दिनको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ) विजयी भएको छ ।

एमएम कप फाउन्डेसनले विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको छ ।

एपीएफले आफ्नो दोस्रो खेलमा जित निकाल्दै २ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ । पहिलो खेल आर्मीसँग हारेको थियो ।

आर्मी १ खेलमा जित्दै २ अंक तथा एपीएफ २ खेलमा १ मा जित र १ मा हारका साथ २ अंक बनाए पनि नेट रन रेटका आधारमा एपीएफ शीर्ष स्थान रहेको छ भने आर्मी दोस्रो स्थानमा छ । बागमती अंकविहीन रहेको छ ।

एपीएफले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङको अवसर पाएको बागमतीले निर्धारित ५० ओभरको खेलमा १९ ओभर ३ बलमा अलआउट हुँदै ८० रनमै समेटियो ।

रित गौतमले ३१ रन, विवेक राना मगरले १३ रन र उत्तम थापा मगरले १० रन बनाए । बलिङमा एपीएफका प्रकाश जैसीले ४ विकेट, अभिषेक गौतमले ३ विकेट र भोजराज भट्टले २ विकेट लिए ।

झिनो ८१ रनको लक्ष्य भेटाउने क्रममा एपीएफले ९ ओभर ४ बलमा २ विकेटको क्षतिमा विजयी हासिल गर्‍यो । दीपक बोहराले ४८ रन, सुमित महर्जनले १८ रन बनाए ।

बलिङमा बागमतीका असिम श्रेष्ठले २ विकेट लिए । खेलको प्लेयर अफ म्याच एपीएफका प्रकाश जैसीले ४ हजार रुपैयाँ पाए ।
प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को अन्तिम खेल सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.