विद्युत् प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्रमा ५ अर्ब २६ करोड नोक्सानी

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १९, शुक्रबार १६:०६

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार (आज) श्वेतपत्र जारी गरेको छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको श्वेतपत्रमा ५ अर्ब २६ करोड नोक्सानी रहेको देखाएका छन् ।

५ अर्ब २६ करोड नोक्सानीमा रहेको तथ्य स्वतपत्रमार्फत सार्वजनिक भएको हो । यसअघि तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले भने प्राधिकरण ८ अर्ब बढी नाफामा रहेको दाबी गर्दै आएका थिए ।

अहिले श्वेतपत्रअनुसार प्राधिकरणले गत आर्थिक वर्ष २०८० र ०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।

नाफा भने पनि आयकर ऐनको प्रावधानअनुसार थप ह्रास कट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म ५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको शाक्यले बताए ।

उनले वैशाख १५ गतेको सञ्चालक समिति बैठकले श्वेतपत्र स्वीकृत गरेको जानकारी दिए । जारी श्वेतपत्रमा ‘कार्यकारी सारांश’ ११ पाना र समग्र रिपोर्ट ७५ पानाको रहेको छ ।

श्वेतपत्रअनुसार देशभरका ९७ दशमलव ५ प्रतिशत पालिका र ९५ प्रतिशत वडामा विद्युत्को पहुँच पुगेको कार्यकारी निर्देशक शाक्यले उल्लेख गरे ।

२०७८ को जनगणनाका आधारमा ९१ दशमलव ४१ घर संरचना र  ८४ दशमलव ६२ प्रतिशत परिवार विद्युत्को पहुँचमा पुगेको उनले बताए । यस्तै, ५५ लाख ६६ हजार प्राधिकरणका ग्राहक रहेका छन् ।

नेपालमा हाल ३ हजार ५ सय ११ मेगावाट जडित विद्युत् र प्राधिकरणको आफ्नै ६ सय ६१ दशमलव ५७ मेगावाट रहेको बताउँदै, कार्यकारी निर्देशक शाक्यले भने, ‘प्राधिकरणको कुल सम्पत्ति ०८० र ०८१ असार मसान्तसम्मको सम्पत्ति ६ खर्ब ४४ अर्ब पुगेको छ । त्यो मध्ये स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रहेको छ ।’

यस्तै, प्राधिकरणबाट २ खर्ब २० अर्ब बराबरका आयोजना निर्माणाधीन रहेको र निर्माण सकिएपछि सम्पत्तिमा परिणत हुने उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.