
विराटनगर । स्पेनिस ला लिगामा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । जसले उपाधितर्फ एक कदम अगाडि बढेको छ ।
आइतबार राति भएको ‘एल क्लासिको’मा ४–३ को बार्सिलोनाले जित निकालेको हो । जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दूरी ७ बनाएको छ ।
शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अंक छ। रियलको भने समान खेलबाट ७५ अंक छ। अब लिगका तीन खेल मात्र बाँकी छन् । तीमध्ये एक खेलमा जित या सबैमा बराबरी नतिजा निकाले पनि बार्सिलोना च्याम्पियन बन्नेछ ।
यो सिजन चारवटै क्लासिकोमा बार्सिलोनाले जित निकाल्यो ।
रियलका लागि किलियन एमबाप्पेले पाँचौं र १४ औं मिनेटमा दुई गोल गर्दै रियललाई २–० को अग्रता दिलाएका थिए । तर बार्सिलोनाका लागि राफिन्हाले २ , लामिन यमल र एरिक गार्सियाले १–१ गोल गरेपछि पहिलो हाफमै ४–२ को अग्रता लियो ।
७०औं मिनेटमा एमबाप्पेले ह्याट्रिक गरे। तर, त्यसपछि थप गोल भएन । बार्सिलोनाले जित निकाल्यो । एमबाप्पे २७ गोलसहित ला लिगाको शीर्ष गोलकर्ता बनेका छन् । बार्सिलोनाका रोबर्ट लेवान्डोव्स्की २५ गोलसहित दोस्रो स्थानमा छन् ।
बार्सिलोनाले यो सिजन रियलविरुद्ध सबै खेल जितेको छ । अक्टोबरमा लिगको पहिलो खेलमा सान्टियागो बर्नाबेउमा ४–०, जनवरीमा स्पेनिस सुपर कपको फाइनलमा ५–२ र गत महिना कोपा डेल रे फाइनलमा बार्सिलोनाले ३–२ को नतिजा निकालेको थियो ।

























