
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा क्षमतावान व्यक्तिलाई नियुक्त गर्ने घोषणा गरेका छन् ।
उनले गभर्नरमा आफूनिकटलाई नियुक्त नगर्ने पनि बताए । योग्यताका आधारमा मेरिट प्रणालीअनुसार सक्षम व्यक्तिलाई गभर्नर दिने सरकारको नीति रहेको ओलीको स्पष्टोक्ति छ ।
पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै बिहीबार प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। काम गर्न सक्ने मान्छे भए देशलाई भइहाल्छ। मेरो मान्छे भन्ने चाहिँदैन। म प्रधानमन्त्री हुँ, तर सरकारका म मात्रै होइन। त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्त्व दिन्छु ।’
राष्ट्र बैंकजस्तो देशको आर्थिक नीति र स्थायित्वमा प्रत्यक्ष प्रभाव पार्ने संस्थामा कुनैपनि किसिमको व्यक्तिगत पहुँच वा सिफारिसका आधारमा नियुक्ति नहुने उनको धारणा छ । उनले देशको हितमा काम गर्न सक्ने व्यक्ति छनोट गर्न आवश्यक रहेको बताए ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्तिमा समेत कुनै व्यक्तिगत प्रभाव नपरेको प्रधानमन्त्रीको दाबी छ । ‘आयोगका १ अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको हुँ । तर, अरू पदाधिकारीसँग मेरो व्यक्तिगत चिनजान छैन,’ उनले भने ।
कार्यक्रमको अवसरमा ओलीले पूर्व योजनाकारहरुको नयाँ संस्थागत प्रयासको स्वागत गर्दै शुभकामना व्यक्त गरे। उनले यस्ता मञ्चहरूबाट नीति निर्माण, समृद्धि र सुशासनका विषयमा विचार र अनुभवको आदानप्रदान हुनुपर्नेमा जोड दिए। व्यक्तित्वको टकरावलाई छाडेर संस्थाको दिगोपनामा ध्यान दिनुपर्ने ओलीको भनाइ छ ।
पूर्वयोजनाकार मञ्च नेपालको उद्देश्य पूर्व उच्चपदस्थ योजनाकारहरूको ज्ञान, अनुभव र योगदानलाई संगठित रूपमा नीति निर्माणमा उपयोग गर्ने रहेको छ। प्रधानमन्त्री ओलीले यस्तो संस्थाले दीर्घकालीन विकास र समावेशी नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

























