
विराटनगर । नेपाल बिमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवका अवसरमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा प्राधिकरणले निबन्ध प्रतियोगिता, रक्तदान, वृद्धाश्रममा खाद्यान्न सहयोग, प्रभातफेरी र समीक्षा तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी मनाएको हो ।
वार्षिक समीक्षा, पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रमका सभापति तथा नेपाल बिमा प्राधिकरण कोशी प्रदेशका प्रमुख विनोदकुमार पोखरेलले कोशी प्रदेशमा भएका बिमा गतिविधि, बिमाको वर्तमान अवस्था तथा आगामी दिनमा प्राधिकरणले गर्ने कार्यक्रमहरूको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले योजना आयोगले योजना निर्माण गर्दा बिमा क्षेत्रलाई अझ प्राथमिकतामा राखेको बताए ।
उनले बिमा सम्बन्धी अध्ययन अनुसन्धान गरी बिमा क्षेत्रको गुणस्तरीय वृद्धिमा आफू तथा आफ्नो संस्थाबाट सहयोग हुने बताए ।
त्यस्तै, कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका आर्थिक सल्लाहकार डा. मोहनकुमार सुवेदीले बिमा प्राधिकरण र कोशी प्रदेश सरकारबीच बिमा सम्बन्धमा गर्न सकिने समन्वयका विषयमा विस्तृत प्रस्तुतीकरण दिएका थिए ।
नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कोशीका अध्यक्ष खड्गबहादुर श्रेष्ठ र नेपाल सर्भेयर एसोसिएसन कोशीका अध्यक्ष ओमप्रकाश राठीलगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा प्राधिकरणद्वारा आयोजित निबन्ध प्रतियोगिताका विजेता महेन्द्र मोरङ क्याम्पसका धनराज साहलाई २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।
साथै, फुटसल प्रतियोगिता र रक्तदान कार्यक्रम सफल पार्न भूमिका खेलेका बिमकका शाखा प्रमुखहरूलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।
कोशी प्रदेशका सम्पूर्ण जीवन, निर्जीवन तथा लघु बिमक कार्यालयका प्रमुख, बिमा सर्भेयर, बिमा कम्पनी कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

























