‘कृषि क्षेत्रप्रति सरकार उदासीन’

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ५, सोमबार १२:२६

काठमाडौं । नेपालमा कृृषि उद्यमसँग सम्बन्धित २० भन्दा बढी वस्तुगत संघले एउटै मञ्चमा जम्मा भएर सरकार कृषिप्रति गम्भीर नभएको समीक्षा गरेका छन् । अधिकांशले सरकार कृषि उद्यममा निजी क्षेत्रप्रति गम्भीर नहुँदा सम्भावना भन्दा धेरै चुनौतीबारे चर्चा गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा नेपाल कुचो संघ, रुद्राक्ष व्यवसायी संघ, नेपाल यार्सागुम्बा संघ तथा नेपाल डेरी एसोसिएसनको संयुक्त आयोजनामा ‘कृषि क्षेत्रका चुनौती, सम्भावना र नवप्रवर्तनको खोजी’ कार्यक्रम भएको थियो ।

सहभागी निजी क्षेत्रको कृषिसँग सम्बन्धी उद्यमी, व्यवसायीको संघसंस्थाले कृषि क्षेत्रमा नीतिगत स्पष्टता, प्रविधि हस्तान्तरण, गुणस्तरीय उत्पादन, बीमा, ल्याब परीक्षण, बजारीकरण र सरकारी सहजीकरणका लागि समन्वयात्मक प्रयास अपरिहार्य रहेको साझा धारणा व्यक्त गरे । डेरी एसाोसिएसन अध्यक्ष प्रह्लाद दाहालले उद्योगीलाई सरकारले जग्गा खोज्न गाह्रो पारेको बताए । उनले उद्योग स्थापनाभन्दा जग्गा किन्न धेरै लगानी गर्नुपर्ने बाध्यता भएको बताए ।

‘उद्योगीलाई जग्गा छैन तर औद्योगिक क्षेत्रभित्र गाडीको शोरुम भएको अवस्था छ,’ दाहालले भने । उनले नेपालमा उद्योगको लागि सहज वातवारण नभएको भन्दै कच्चापदार्थ ल्याउन महँगो परेको बताए । फ्लोरीकल्चर एसोसिएसन अध्यक्ष राजेशभक्त श्रेष्ठ नेपालले फूलको बिरुवा ल्याउन नपाएको बताए । ‘किट जोखिम विश्लेषण नहुँदा हामीले बिरुवा ल्याउन पाएका छैनौं । जसले गर्दा अवैधानिक फूल आयात भइरहेको छ,’ उनले भने ।

यस्तै यार्सागुम्बा संघ अध्यक्ष निराजन चलाउनेले सरकारले आम्दानी गरेको मात्रै देखे पनि विश्व बजारमा ब्रान्डिङको काम गर्न नसकेको बताए । कोल्ड स्टोर संघ अध्यक्ष कृष्णभक्त श्रेष्ठले विद्युत् प्राधिकरणका कारण कोल्ड स्टोर धराशायी बन्न पुगिरहेको बताए । नेपाल प्लाइउड एसोसिएसन अध्यक्ष होमप्रसाद घिमिरेले यस क्षेत्रमा बीमाको व्यवस्था नभएको बताउँदै सरकारले अध्ययन गरेर सहजीकरण गर्नुपर्ने धारणा राखे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.