
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अर्घेल्याइँका कारण लामो समयदेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा परेको छ ।
सत्तारुढ नेपाली कांग्रेसको भागमा परेको गभर्नर नियुक्त गर्न ओलीले आलटाल गरिरहेका हुन् । कांग्रेसले भने आफ्नो भागबण्डामा परेको गभर्नर ४८ घण्टाभित्र नियुक्त गर्न ओलीलाई अल्टिमेटम दिएको छ।
गभर्नर नियुक्तिका कारण ओलीसँग असन्तुष्टजस्तै बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित गराए । देउवाले ओलीलाई प्रतिबद्धता अनुसार गभर्नर नियुक्त गर्न अल्टिमेटम दिएको स्रोतले बतायो ।
देउवाले अहिलेसम्म ओली नेतृत्वको सरकारलाई हरतरहले सहयोग गर्दै आएका छन् । तर, गभर्नर नियुक्तिमा छलफल नभएको भन्दै उनी ओलीसँग असन्तुष्ट बनेका छन् । सरकारमा रहेका २ दलबीच गभर्नर कांग्रेसले इच्छाएको व्यक्तिलाई दिने बताइए पनि प्रधानमन्त्री ओलीले एकपछि अर्को बहाना गरेर टार्दै आएको आरोप कांग्रेसको छ ।
सुरुमा कांग्रेसले राष्ट्र बैंककै निर्देशक गुणाकर भट्टलाई अगाडि सारे पनि उनको राजीनामा स्वीकृत नगरेर विवाद सिर्जना भएको छ । त्यसपछि गभर्नर सिफारिस समितिमै रहेका विश्व पौडेललाई गभर्नर बनाउने तयारी गरे पनि ओलीले आलटाल गरेपछि सभापति देउवा सरकारप्रति आक्रोसित देखिएको नेताहरु बताउँछन् ।
ओलीले सोमबार साँझ ‘मन्त्रिपरिषद बैठक बोलाएका थिए । तर, देउवाले ‘बैठक किन बस्नुपर्यो’ भन्दै रोकिदिए । त्यसपछि प्रधानमन्त्री ओलीले उनलाई भेट्न बुढानीलकण्ठस्थित निवासमै पुग्ने खबर पठाए ।
तर, देउवाले ओलीसँग भेट्न अस्वीकार गरेका छन् । मन्त्रिपरिषद् बैठक रोकिएपछि ओलीले देउवालाई ‘कुरा गर्न आउँछु’ भनेका थिए । देउवाले भने आफू अस्वस्थ भएकाले नआउन खबर पठाए ।
कांग्रेसमा ओली सरकारप्रति यस अघिदेखि नै असन्तुष्टि बढ्दो छ । प्रतिबद्धता अनुसार ओलीले गभर्नर नियुक्त नगरेपछि असन्तुष्टि झन् चुलिएको छ ।
अहिल्यै यसो गर्ने ओलीले प्रधानमन्त्री दिन्छन् भन्ने कुरामा विश्वास नरहेको भन्दै कांग्रेसका नेताहरुले देउवालाई सचेत रहन आग्रह गरेका छन् । सोमबारको घटनालाई सरकारको भविष्यसँग जोडेरसमेत हेर्न थालिएको छ ।

























