
काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले ग्यास सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै कोइरालाले एलपी ग्यास सिलिन्डर साट्दा ठग्ने काम गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।
खाना पकाउने एलपी ग्यासका धेरै प्रकारका सिलिन्डरहरू बजारमा रहेको र ग्यास अभावको नाटक गरेर सिलिन्डर साट्न लगाइ ठग्ने काम गरिएको उनले बताइन् ।
कोइरालाले भनिन्, ‘प्रकारका सिलिन्डरहरू बजारमा छन् । तर कहिले कहिले कम्पनीअनुसार ग्यास अभाव गरिन्छ । अभाव भएको लामो समयपछि उपभोक्ताले ग्यास लिन जाँदा यो कम्पनीको ग्यास छैन, सिलिन्डर साट्नुस् भनिन्छ । सिलिन्डर साट्न कसैले पाँच सय, कसैले हजार तिरेर बाध्यतामा पारेर उपभोक्ताहरूले सिलिन्डर साट्छन् । सरकारको अनुगमन गर्ने निकाय छैन सभामुखज्यू यो देशमा ? ग्यास एउटै । अलग अलग कम्पनी दर्ता गराइसकेपछि सिलिन्डर साट्नका लागि उपभोक्ताहरूसँग किन फेरि पैसा थपिन्छ ? सरकारले यस्ता कामको निगरानी गरोस् ।’

























