
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत राजस्व बढ्ने सूचना चुहिएपछि विद्युतीय सवारी (ईभी)को आयात बढेको छ । जेठ १५ गते बजेट भाषण हुँदैछ । बजेटमा सरकारले भन्सार दर बढाउने चर्चा चलेपछि ईभीको आयात बढेको हो ।
रसुवा र तातोपानी नाकाको सुक्खा बन्दरगाह गाडी भरिएका छन् । त्यहाँ नआटेपछि चोभारमा पनि गाडी राखिएको छ । ती नाकामा २३ अर्ब मूल्य बराबरका सवारी थुप्रिएका छन् ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् पनि ईभीमा कर बढाएको थियो । आगामी वर्ष पनि बढ्ने सूचना बाहिर आएपछि आयात बढेको व्यावसायीहरुले बताएका छन् । अहिले चोभार सुक्खा बन्दरगाह ईभीले भरिभराउ भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जनाए ।
रसुवा भन्सार नाका हुँदै दैनिक एक सयदेखि १५० हाराहारीमा ईभी आयात भइरहेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले जानकारी दिए । रसुवा भन्सार नाकाबाट वैशाख मसान्तसम्ममा १३ अर्ब ७७ करोड रुपैयाँ बराबरको ५ हजार ७०१ वटा सवारी साधन आयात भएको छ ।
तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसार वैशाख मसान्तसम्म यो नाकाबाट १० अर्ब १ करोड ९४ लाख रुपैयाँ बराबरको ३ हजार ९४७ वटा ईभी आयात भएका छन् ।

























