सबै सहकारीलाई एउटै डालोमा राखेर हेर्न हुँदैन : मेयर कोइराला

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ७, बुधबार १८:५३

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको बताएका छन् ।

सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक माझ चौमासिक अन्तरक्रिया कार्यक्रम तथा नेपाल लेखा मापदण्ड (एनएएस) सम्बन्धी तालिमको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले मुलुकका अन्य ठाउँमा मात्रै होइन विराटनगरमा पनि धेरै राम्रा सहकारी भएको बताए ।

उनले सबै सहकारीलाई एउटै डालोमा राखेर हेर्न नहुनेमा जोड दिए । ‘सहकारीको मर्म र भावनाअनुसार सञ्चालित थुप्रै सहकारीहरू छन् । उनीहरूले बचतकर्ता र ऋणी दुवैलाई सेवा प्रवाह गरिरहेका छन्,’ उनले भने, ‘तर केही सहकारीका कारण उनीहरू सबैको बदनाम भइरहेको छ ।’

मेयर कोइरालाले सहकारीबिच असल कार्य गर्ने विषयमा प्रतिस्पर्धा हुनु आवश्यक रहेको औँल्याए ।

‘सहकारीहरूमा असल अभ्यास पनि भएका छन्,’ उनले भने, ‘राम्रो अभ्यास र काम गर्ने सहकारीबाट अन्य सहकारीले पनि पाठ सिक्नुपर्छ । विराटनगरमै पनि निकै उत्कृष्ट सहकारीहरू सञ्चालनमा रहेका छन् ।’

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरभित्रका सहकारीलाई अझै व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले सहकारीलाई प्रविधिमैत्री बनाउँदै पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

वडा नम्बर १९ का अध्यक्षसमेत रहेका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले महानगरले सहकारीलाई व्यवस्थित र पारदर्शी तथा जबाफदेही बनाउन बेला–बेला अनुगमन गर्ने गरेको सुनाए ।

उनले गलत गर्ने सहकारीलाई कारबाहीसमेत गर्ने गरेको उल्लेख गरे ।

अन्तरक्रियापछि नेपाल लेखा मापदण्ड (एनएएस) सम्बन्धी प्रशिक्षणसमेत आयोजना गरिएको थियो ।

प्रशिक्षार्थीहरूलाई सीए सुरज तिम्सिनाले सहजीकरण गरेका थिए । सहकारी शाखाकी प्रमुख चाँदनी राईका अनुसार महानगरको क्षेत्राधिकारभित्र १ सय ७२ वटा सहकारी सञ्चालनमा रहेका छन् ।

त्यसमध्ये हालसम्म ६१ वटाको अनुगमन, १ सय २५ वटा सहकारीले नियमित वित्तीय वितरण बुझाएको, १ सय १० वटा सहकारीले शेयर सदस्यहरूको विवरण पठाएको राईले जानकारी दिइन् ।

त्यस्तै, १ सय १७ वटा सहकारीले साधारण सभाको प्रतिवेदन बुझाएका छन् । व्यवस्थापन सूचना प्रणाली (कोकोमिस) मार्फत सहकारीको कारोबारलाई व्यवस्थित बनाउने काम भइरहेको उनले बताइन् ।

तालिममा महानगरको क्षेत्राधिकारभित्र रहेका १ सय ७२ सहकारीका अध्यक्ष र व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.