
काठमाडौं । दिल्ली क्यापिटललाई ५९ रनले हराउँदै मुम्बई इन्डियन्स आईपीएलको प्ले अफमा प्रवेश गरेको हो । बुधबार भएको खेलमा मुम्बईको जितसँगै यस सिजनको इन्डियन प्रिमियर लिगको प्ले अफमा प्रवेश गर्ने चौथो टोलीको टुङ्गो लागेको छ ।
यसअघि नै गुजरात टाइटान, रोयल च्यालेन्जर बंगलोरु र पन्जाब किङ्स प्ले अफमा प्रवेश गरिसकेका छन् । मुम्बईले अन्तिम खेल पन्जाबसँग खेल्ने छ ।
मुम्बईले दिएको १८१ रनको लक्ष्य पछ्याएको दिल्ली १० बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १२१ रनमा समेटिएको हो ।
दिल्लीका समीर रिज्भीले ३९, विपराज निगमले २० र आशुतोष शर्माले १८ रन जोड्दा के ऐल राहुलले ११ रन प्रहार गरे भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
मुम्बईका माइकल सान्टनरले चार ओभरमा ११ रन खर्चेर तीन तथा जसप्रित बुमराहले ३.२ ओभरमा १२ रन खर्चेर तीन विकेट हात पारे । मुम्बईको बंखाडे रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पाँच विकेटको क्षतिमा १८० रनको योगफल खडा गरेको थियो । मुम्बईका लागि सूर्यकुमार यादव ४३ बलमा ७३ रन प्रहार गर्दै अविजित रहे । तिलक बर्माले २७, रेन रिकेल्टनले २५ तथा विल ज्या क्सले २१ रनको योगदान गरे ।



















