
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा निर्यात व्यापार बढेको छ । खानेतेल निर्यातमा भन्सार सहुलियत र अग्रिम भुक्तानी सुविधाले निर्यात व्यापार ७३ प्रतिशतले बढेको हो ।
उक्त अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो निर्यात रकम हालसम्मकै धेरै हो । गत आर्थिक वर्षको १० महिनामा १ खर्ब २६ अर्ब १७ करोडको वस्तु निर्यात भएको थियो ।
भन्सार विभागका अनुसार निर्यात व्यापार बढे पनि मुलुकको व्यापार घाटामा भने सुधार छैन । चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको भन्दा करिब ७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०–८१ को उक्त अवधिमा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो ।
आर्थिक वर्ष २०७८–७९ मा पहिलो पटक २ खर्ब ३ करोडको वस्तु निर्यात भएको थियो । त्यसयता यो आवको १० महिनामा निर्यात २ खर्ब १७ अर्ब रुपैयाँ नाघेको विभागले जनाएको छ ।
खानेतेलका कारण समग्र निर्यात व्यापार बढेको हो । निर्यात भएका वस्तुमध्ये खानेतेलको हिस्सा ४१ प्रतिशत छ । उक्त अवधिमा ८८ अर्ब ८७ करोड रुपैयाँको खानेतेल निर्यात भएको छ ।
विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै सोयाबिन तेल ७८ अर्ब ७५ करोड, सनफ्लावर तेल १० अर्ब ९ करोडको निर्यात भएको छ । पाम तेलको निर्यात ३ करोड रुपैयाँ पुगेको छ ।
खानेतेलको कच्चा पदार्थ अमेरिका, अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट आयात हुँदै आएको छ । १० महिनामा आयात व्यापारमा खानेतेल (कच्चा) को हिस्सा साढे ७ प्रतिशत छ । चालु आर्थिक वर्षको १० महिनामा १४ खर्ब ७४ अर्ब १८ करोडको वस्तु आयात भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा १४ खर्ब ७४ अर्ब १८ करोडको वस्तु आयात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिभन्दा १३.११ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोडको वस्तु आयात भएको विभागले जनाएको छ । आयातमध्ये पहिलो नम्बरमा डिजेल १ खर्ब २ अर्ब ३८ करोडको आयात भएको छ । दोस्रोमा नम्बरमा भने सोयाबिन तेल (कच्चा पदार्थ) नै हो ।
तेस्रो नम्बरमा भने पेट्रोल ५३ अर्ब ५ करोड, खाना पकाउने एलपी ग्यास ५१ अर्ब ८१ करोड रुपैयाँ बराबरको आयात भएको छ ।
त्यस्तै, ४१ अर्ब ४९ करोडको आइरन, २८ अर्ब ७६ करोडको स्मार्टफोन, २८ अर्ब ७५ करोडको स्टिल आइरन, २४ अर्ब ६४ करोडको सनफ्लावर तेल (कच्चा), १८ अर्ब ९५ करोडको धान, १७ अर्ब १२ करोडको सुन, १६ अर्ब १४ करोडको हवाई इन्धन, १४ अर्ब ९७ करोडको मकैलगायत वस्तु आयात भएको छ ।

























