
झापा । काँकडभिट्टा नाका हुँदै भारतबाट साढे ४ करोड बढीको खरबुजा नेपाली बजारमा भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को १० महिनामा ४ करोड ६१ लाख ३४ हजार रूपैयाँ बराबरको खरबुजा भित्रिएको हो ।
१७ लाख ६५ हजार ९० किलोग्राम खरबुजा आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । खरबुजा गर्मीमा शीतल प्रदान गर्ने स्वादिष्ट फल हो ।
स्थानीयले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आए पनि भारतबाट आयातित खरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादनलाई ओझेलमा पारेको छ । चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा धेरै चैतमा १ करोड ३३ लाख ७ हजार मूल्य बराबरको ५ लाख १० हजार २ सय ३० किलो खरबुजा भारतबाट आयात भएको हुमागाईंले बताए ।
उनका अनुसार साउन महिनामा ६० लाख ५० हजार मूल्य बराबरको १ लाख ३० हजार ८ सय ५० किलो, भदौमा ४८ लाख ९८ हजारको १ लाख ८६ हजार १ सय ४० किलो, असोजमा ३७ लाख २९ हजार रूपैयाँ बराबरको १ लाख ४१ हजार ४ सय ५० किलो र कात्तिकमा २१ लाख ३७ हजार रूपैयाँ बराबरको ८१ हजार २ सय ४० किलो खरबुजा भित्रिएको छ ।
मंसिरमा १४ लाख ६६ हजार मूल्य बराबरको ५५ हजार ७ सय ८० किलो, पुसमा १२ लाख ४२ हजार मूल्य बराबरको ४७ हजार २ सय ६० किलो, माघमा २२ लाख ३२ हजार रूपैयाँ बराबरको ८५ हजार ७ सय १० किलो, फागुनमा ४४ लाख ८८ हजार रूपैयाँ बराबरको १ लाख ७३ हजार ७ सय ८९ र वैशाखमा ६५ लाख ८६ हजार रूपैयाँ बराबरको २ लाख ५२ हजार ६ सय ५० किलो आयात भएको हुमागाईंले बताए ।
विगत केही वर्षदेखि झापामा व्यावसायिक खरबुजा खेती भइरहेको छ । तर, नेपाली उत्पादनलाई भारतबाट आयातित खरबुजासँग मूल्यमा प्रतिस्पर्धा गर्न समस्या भइरहेको छ ।
झापाको मेचीनगर नगरपालिका–१५ स्थित नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक लीला खनालले भारतबाट हुने उच्च आयातले स्थानीय उत्पादनलाई असर गरिरहेको बताए । उनका अनुसार साझेदारहरूसँग मिलेर भाडामा लिएको १३ बिघा जग्गामा खरबुजा खेती सुरु गरिएको थियो । गत वर्ष उक्त फार्मबाट ३ सय ५० मेट्रिक टन खरबुजा उत्पादन भएको खनालले बताए ।

























