दर्ता र सूचीकृत नभएका बीउ बजारमा, सुनसरीबाट १ हजार किलो बरामद

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १०, शनिबार १७:३०

विराटनगर । विधिवत् दर्ता र सूचीकृत नभएको बीउ बिक्री गर्ने गरेको खुलेको छ । कोशी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालयको टोलीले सुनसरीको विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध बिउ बरामद गरेपछि यसको खुलासा भएको हो ।

मन्त्रालयका बालि विकास अधिकृत योगेन्द्र यादव र बिउ निरीक्षक पुरुषोतम जोशीको नेतृत्वको अनुगमन टोलीले शुक्रबार १ हजार २५ किलोग्राम अवैध धानको तथा अन्य बालीका जातको बिउ बरामद गरेको हो ।

कृषि मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार बिबि ११ जातको धानको बिउ ९ सय २० किलो, एमटियु ७०२९ जातको बिउ ३० किलो, कोमल १ सय १ किलो, सोना मन्सुली ६५ किलो र तरकारीको म्याद गुज्रेको बिउ ४ किलो छ ।

अवैध तरिकाले बिउ बजारमा पठाउने बिउ उत्पादकहरुमा राष्ट्रिय बिउ विजन कम्पनी प्रालि मोरङ, कृषक बिउ उत्पादक समूह गौरादह–६ झापा, भूमि सिड मोरङ विराटनगर, कञ्चन बिउ उत्पादक उद्योग, मेचीनगर झापा, मेची कृषक बहुमुखी सहकारी संस्था मेचीनगर झापा, तमोर बिउ उत्पादक बिर्तामोड–७ झापा, इस्ट वेष्ट सिड कम्पनी, विराटनगर छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड इटहरीबाट बिउ व्यवसाय प्रमाणपत्र नभएका व्यसायीलाई पनि धानको बिउ उपलब्ध गराएको भेटिएको जोशीले बताए । नेपालमा सूचीकृत तथा दर्ता नगरिएका बिउ बिक्री वितरण गर्न पाइँदैन । यसरी अवैध बिउहरु विक्री हुने गरेको किसानबाटै गुनासो आएपछि आफूहरुले अनुगमनका लागि टोली परिचालन गरेको मन्त्रालयका सचिव पाण्डेले बताए ।

हालसम्म बिउ विक्रेताहरुले किसानलाई ठगेर विभिन्न जातका धानको बिउ बिक्री वितरण गरिरहेका थिए । नेपाली बिउ उत्पादकहरुले पनि सूचिकृत तथा दर्ता नभएका बीउहरू उत्पादन गरेर बजारमा पठाएको भेटिएको हो । बिउ बिजन ऐन २०४५ तथा कोशी प्रदेश बिउ विजन ऐन २०८१ तथा बिउ बिजन नियमावली २०८१ का यसरी विक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम आएपछि प्रदेश बिउ विजन २०८१ र प्रदेश जीवनाशक विषादी ऐन २०८१ जारी भएको छ । मन्त्रालयले उक्त ऐन कार्यान्वयन गराउन बिउ विजन प्रयोगशाला झुम्काको प्रतिनिधि, कृषि ज्ञान केन्द्र सुनसरीको प्रतिनिधि र मन्त्रालयको वाली विकास अधिकृत योगेन्द्र यादव र बिउ निरीक्षक पुरुषोतम जोशीलाई अनुगमनको लागि पठाएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.