
काठमाडौं । सरकारले बजेटको अन्तिम तयारी गरेको छ । करिब २० खर्बको बजेट आउन सक्ने सम्भावना रहेको जनाइएको छ ।
राष्ट्रिय योजना आयोग उपाध्यक्षको संयोजकत्वमा हुने स्रोत समितिले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटका लागि १९ खर्ब रुपैयाँको सिलिङ दिएको थियो ।
अर्थमन्त्री विष्णु पौडेलले यस पटक विनियोजनकै चरणबाट अनुशासित बजेट बनाउने दाबी गर्दै आएका थिए । तर, व्यवहारमा सिलिङ समेत तोडेर ठूलो आकारको बजेट आउने सम्भावना देखिएको हो ।
मध्यमकालीन खर्च संरचना र स्रोत समितिले दिएको सिलिङबीच रहने गरी बजेट आकार तय गर्ने तयारी गरिएको हो । सरकारले चालु आव १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयन गरिरहेको छ।
सरकार पछिल्ला केही वर्षयता स्रोतको चरम दबाबमा छ । राजस्व संकलन लक्ष्य अनुसार हुन सकेको छैन । वृद्धिदर समेत उत्साहजनक छैन ।
बजेटमार्फट कर्मचारीको तलब बढ्ने कि नबढ्ने अन्तिम निर्णय भइनसकेको अधिकारीहरुले बताएका छन् । सरकारले चालु आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट ल्याएको थियो । तर, बजेटको अर्धवार्षिक समीक्षा मार्फत सरकारले १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाखमात्र खर्च हुने अनुमान गरेको थियो ।
२० खर्बको बजेट बनाउँदा गत सालको विनियोजन भन्दा ८ प्रतिशत र संशोधित खर्च अनुमानको तुलनामा १८ प्रतिशत ठूलो हुनेछ ।

























