विमानस्थल स्तरोन्नति : बजेट गयो झापा, विराटनगर हेरेको हेर्यै

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १८:४२

विराटनगर । संघीय सरकारले झापाको भद्रपुर, चन्द्रगढीस्थित विमानस्थलको क्षमता विस्तार गर्ने गरी बजेट विनियोजन गरेको छ । विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउने र भविष्यमा अन्तर्राष्ट्रिय स्तरको बनाउने भनेर निकै चर्चा थियो । यहाँका उद्योगीसहित सरकोकारवालाले विराटनगर विमानस्थललाई विस्तार र व्यवस्थित बनाउनुपर्ने माग लामो समयदेखि उठाउँदै आएका थिए ।

यसपालिको बजेटले केही व्यवस्था गर्ला कि भनेर बसेका विराटनगरका सरोकारवाला निरास बनेका छन् । आर्थिक वर्ष २०८२–०८३ को लागि आज (बिहीबार) बजेट सार्वजनिक गर्दा झापाको विमानस्थलका लागि बजेट छुट्याइएको जानकारी दिइएको छ ।

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका लागि धेरै ध्यान दिएर विराटनगरलाई बेवास्ता गरिएको यहाँका सरोकारवालले महसुस गरेका छन् ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दा विराटनगर विमानस्थलबारे एक शब्द पनि नबोलेर झापाको भद्रपुर विमानस्थलको क्षमता विस्तारका लागि बजेट सार्वजनिक गरेका थिए ।

विराटनगरका एक उद्योगीका अनुसार आफ्नो गृहजिल्लामा विमानस्थलका लागि प्राथमिकता दिएको तर विराटनगरजस्तो औद्योगिक नगरीलाई बेवास्ता गरिएको छ ।

‘हामीले विराटनगर विमानस्थलको स्तरोन्नति गरिदिन प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्रीसहित सबैजसो उच्चपदस्थहरुलाई पटकपटक आग्रह गर्दै आयौं’ ती उद्योगीले भने, ‘आश्वासन दिन छाडिएन तर बजेट झापा गयो हामी हेरेको हेर्यै भयौं ।’

उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बजेट सकारात्मक रहे पनि विराटनगरले विगतदेखि माग गर्दै आएको विमानस्थल स्तरोन्नति, प्रदर्शनी कक्ष, विशेष आर्थिक क्षेत्र जस्ता विषयमा भने मौन रहेको बटाए ।

झापाको भद्रपुर, दाङको टरिगाउँ, ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तार गरिने अर्थमन्त्री पौडेलले बताएका थिए । यस्तै, सुर्खेतमा प्रादेशिक विमानस्थलको प्रक्रिया थालिनेछ। आन्तरिक विमानस्थलको पूर्वाधारका लागि ५० करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकको रूपमा छुट्याई संस्थागत सुदृढीकरण गरिने बजेटमा जनाइएको छ । आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गरिनेछ । आन्तरिक हवाई सुरक्षालाई थप सुरक्षित र पहुँचयोग्य बनाइने बजेटमा उल्लेख छ ।

यसैगरी, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा स्तरोन्नति गर्ने सरकारले जनाएको छ । यसका लागि आगामी आर्थिक वर्षमा चार अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रूपमा विकास गरिने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकका लागि किफायती हुने गरी विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गरिने जनाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गाे सेवा सञ्चालन गर्न विशेष सहुलियत दिइनेछ ।

नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न विशेष सहुलियत दिइने सरकारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.