विराटनगरलाई नसमेटेको बजेटप्रति निजी क्षेत्र ‘उत्साहित’

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १८:५७

विराटनगर । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले विराटनगरको निजी क्षेत्रलाई उत्साहित बनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका थिए ।

यो बजेटले विराटनगरलाई नसमेटे पनि निजी क्षेत्रका धेरै मागलाई सम्बोधन गरेको निजी क्षेत्रको भनाई छ । ‘सरकारले निर्यात गर्ने उद्योगलाई विदेशमा लगानी गर्ने दिने व्यवस्था छ, यो धेरै राम्रो विषय हो,’ उद्योगी महेश जाजूले भने, ‘निजी क्षेत्रका धेरै विषयलाई समेटेको छ, बजेट सकारात्मक छ ।’

बजेटले आयात–निर्यात गर्ने साना उद्योगीलाई प्रोत्साहित गरेको संविधानसभा सदस्य तथा उद्योगी पवनकुमार सारडाले बताए । ‘एक्जिम कोडमा ३ लाख रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान हट्नु र खाद्यान्य आयतमा अग्रिम लाभकर बुझाउने प्रावधान हट्नु सकारात्मक हो,’ उनले भने,‘ खैनी चुरोटमा बढी कर लगाउनु उचित छैन ।’

संघीय सरकारको बजेट सकारात्मक आएको मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष विकासकुमार बेगवानीको प्रतिक्रिया छ । सरकारले गहनाको क्षेत्रमा नयाँ सम्भावना सृजना गरेको उनले बताए । सहकारी पीडितको हकमा बजेटले प्रावधान गरेको बताउँदै उनले खाद्यान्य आयातमा लागिरहेको एभान्स ट्याक्स अन्त्य हुनु राम्रो विषय रहेको उनको भनाइ छ ।

संघकै उपाध्यक्ष अनिल सारडाका अनुसार निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी सरकारले बजेट ल्याएको छ । बजेटले निजी क्षेत्रलाई धेरै अवसर सृजना गरेको उनले बताए । ‘बजेट महत्वकांक्षी छ, बजेटमा समावेश भएका विषय समेटियो भने धेरै राम्रो हुन्छ,’ उनले भने,‘ निर्यात गर्दा विदेशमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने प्रावधानले नयाँ सम्भावनाको ढोका खोलेको छ ।’

उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सकारात्मक रहेको बजेटले राजस्व लक्ष्य चाहिँ गतवर्षको भन्दा घटाएको बताए । धान उत्पादनलाई बढाउने सरकारको लक्ष्य सकारात्मक रहेको बताउँदै उनले विदेशमा लगानी गर्न पाउने र आम्दानीको ५० प्रतिशत स्वदेशमा ल्याउनुपर्ने प्रावधान सकारात्मक रहेको बताए ।

‘सुनचाँदीका गहनामा वन्डेड हाउसको सुविधा दिने साथै निर्यात गरेको गहनाको ५० प्रतिशत वदेशी मुद्राको सुनचाँदी आयात गर्न पाउने प्रावधान सकारात्मक छ,’ उनले भने, ‘विराटनगरले विगत कयौं वर्षदेखि माग गर्दै आएको प्रदर्शनी कक्ष, विशेष आर्थिक क्षेत्र, क्षेत्रीय विमानस्थलका विषयमा चाहिँ बजेट मौन रह्यो यो क्षेत्रको विकासका लागि बजेटमा कुनै पनि कुरा नआएकोमा दुःख लागेको छ ।’

मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष उद्योगी प्रकाश मुन्दडाले बजेटले निजी क्षेत्रका लागि सकारात्मक अवसर सृजना गरेको बताए । आइटी क्षेत्रलाई राज्यले सम्बोधन गरेको बताउँदै उनले निर्यातको क्षेत्रमा सकारात्मक व्यवस्था गरेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.