
विराटनगर । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कोशी प्रदेशको झापा जिल्ला प्राथमिकतामा परेकाे छ । झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो । बजेटले झापालाई प्राथमिकता दिएकाे छ ।
अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेकाे बजेटमा पूर्वाधार,पर्यटन,खेलकुदलगायत क्षेत्रमा कोशी प्रदेशलाई सम्बोधन गरेको छ ।
बजेटले विराटनगरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला रंगशालालाई सम्बोधन गरेको छ । झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक रङ्गशाला निर्माण गर्ने विषय बजेटमा समेटिएको छ । सोलुखुम्बुमा ‘हाई अल्टिच्यूट स्पोर्टस स्टेडियम’ निर्माण गर्ने योजना बजेटमा छ ।
रानी विराटनगर इटहरी हुँदै किमाथाङ्का जोड्ने व्यापारिक मार्गलाई बजेटले समेटेको छ । पूर्वपश्चिम राजमार्ग विस्तारअन्तर्गत काँकडभिट्टा–लौकही सडक चार लेन स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ ।
पूर्वपश्चिम रेलमार्गका लागि काँकडभिट्टा -इनरुवासम्मकाे खण्डमा रोक्का राखिएको जग्गा भने फुकुवा भएको छ । रेल मार्ग निर्माणका लागि पाँच वर्ष अघि याे क्षेत्रकाे जग्गा राेक्का राखिएकाे थियाे ।
कोशी कोरीडोरको विस्तार,अरुण कोरिडोरअन्तर्गत चतरा–लेगुवा सडक निर्माण, तमोर कोरिडोर र मेची राजमार्ग बजेटमा परेकाे छ ।
धरान-लेउती सुरुङ मार्ग पनि बजेट प्राथमिकतामा परेको छ । झापाको बाहुनडाँगीदेखि डडेल्धुरा जोड्ने पुष्पलाल मार्गले पनि बजेटमा स्थान पाएको छ ।
झापाको भद्रपुर र ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तारका लागि बजेटको प्राथमिकतामा परेको छ । याे बजेटले विराटनगर विमानस्थलकाे क्षमता विस्तारका लागि भने सम्बाेधन गरेन । तेह्रथुमको चुहानडाँडा र उदयपुरको सगरमाथा विमानस्थलका सम्भाव्यता अध्ययन गर्ने याेजना पनि बजेटमा छ ।
कोश टप्पुदेखि सगरमाथा र केचना–पाथीभरासम्म पदमार्गले पनि बजेटमा प्राथमिकता पाएको छ । सरकारले प्रत्येक प्रदेशमा जलन अस्पताल निर्माण गर्ने भनेको छ । यो योजना कार्यान्वयन भए कोशमा पनि जलन अस्पताल बन्नेछ ।

























