
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् ।
बजेट कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको उनले स्पष्ट पारेका छन् । अर्थमन्त्री पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी बजेट प्रस्तुत गरेका थिए । भोलिपल्ट अर्थात्, शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले बजेटका मुख्य उपलब्धिका बारेमा जानकारी दिए ।
सरकारले १९ खर्ब ६४ अर्ब १९ करोड बराबरको आगामी बजेट सार्वजनिक गरेको छ । पौडेलले बजेट कार्यान्वयनबाट निजी क्षेत्रको लगानी वृद्धि हुने र आर्थिक गतिविधि विस्तारसँगै रोजगारीको अवसर सृजना हुने उल्लेख गरे ।
बजेटमा आम्दानी र खर्चको यथार्थपरक अनुमान गरिएको उनको भनाइ छ । बजेटमा पुँजीगत खर्चको विनियोजन बढाइएको, चालु खर्चलाई सीमाभित्र राखिएको र अन्तर सरकारी वित्त हस्तान्तरणमा वृद्धि गरिएको उनको भनाइ छ ।
‘राजश्वको लक्ष्य संशोधित अनुमानको १७ प्रतिशत राखिएको छ,’ मन्त्री पौडेलले भने, ‘३ करोडको मापदण्डभित्र रहेर बजेट विनियोजन गरिएको हो ।’ उनले अर्थ मन्त्रालयले बजेट कार्यान्वयनको काम सुरु गरिसकेको जानकारी दिए ।
३ करोड तलका आयोजना बजेटमा नसमेटिएको बताउँदै पौडेलले आयोजना निर्माणमा खरिद प्रक्रियाका लागि अब साउन १ गते कुनै आवश्यक नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा १३ अर्बले आन्तरिक ऋण कम प्रस्ताव गरिएको उनले बताए ।
कुल गार्हस्थ उत्पादनको ५.५ प्रतिशतको सीमा प्राप्त भएकोमा ५.३ प्रतिशत मात्रै प्रस्ताव गरिएको जानकारी पौडेलले दिएका छन् ।

























