ओलीको गृहजिल्लामा योजनै योजना, काठमाडौं र रुपन्देही पनि प्राथमिकतामा

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २३, शुक्रबार १२:०८

विराटनगर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा योजनै योजना पारिएको छ । सहरी विकास मन्त्रालयले बस्ती विकासका नाममा ३ हजारभन्दा धेरै टुक्रे योजना छ्ट्याएकामा झापामा धेरै योजना परेको हो ।

झापापछि उपप्रधानमन्त्री प्रकाशमान सिंहको जिल्ला काठमाडौं र अर्थमन्त्री विष्णु पौडेलको जिल्ला रुपन्देही प्राथमिकतामा पारिएको छ । ती जिल्लामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमार्फत् योजना पारिएको हो ।

मन्त्रालयले आर्थिक वर्ष २०८२–८३ का लागि योजना समावेश गरेर वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । जेठ १५ गतेको बजेटमा उल्लेख गरिएको परियोजना अनुसार ती योजनाका लागि रकम विनियोजन गरिएको हो ।

बस्ती विकास कार्यक्रमका लागि मात्रै ३६ अर्ब ८३ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसअन्तर्गत ३ हजार ६० योजना समावेश छन् । त्यसमध्ये संघीय सहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन निर्माण आयोजना, सघन सहरी तथा भवन निर्माण आयोजना लगायत संघीय निकायबाट कार्यान्वयन हुने गरी १ हजार २५९ वटा, सात वटा प्रदेश अन्तर्गत कार्यान्वयन हुने गरी १६८ र बाँकी स्थानीय तहबाट कार्यान्वयन हुने गरी विनियोजन गरेका छन् ।

त्यस्तै, प्रदेश तहबाट कार्यान्वयन हुने गरी न्यूनतम २५ लाखदेखि अधिकतम १ करोड ६० लाख रुपैयाँसम्मको बजेट विनियोजन गरेको छ । त्यस्तै, स्थानीय तहमा ५ लाखदेखि १ करोड रुपैयाँसम्म विनियोजन गरिएको देखिन्छ ।

झापामा उक्त कार्यक्रमबाट मात्रै संघीय निकायबाट कार्यान्वयन हुनेगरी ९१ वटा योजनामार्फत् ३ अर्ब १२ करोड ५८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ । कोशी प्रदेश सरकारबाट कार्यान्वयन हुनेगरी ४ परियोजनामा ४ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ भने स्थानीय तहमार्फत् २५ लाखदेखि ७० लाखसम्मका ५३ वटा आयोजना छुट्याइएको छ ।

दोस्रो प्राथमिकतामा परेको काठमाडौं जिल्लाका लागि सहरी विकास मन्त्रालयले संघीय रूपमा कार्यान्वयन हुने गरी १३० वटा योजनामा ३ अर्ब ९१ करोड ३७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । यो प्रदेश तथा स्थानीय तहमार्फत् कार्यान्वयन हुने आयोजना बाहेकका रकम हो । बाग्मती प्रदेशले कार्यान्वयन गर्नेगरी थप २६ वटा आयोजना विनियोजन गरिएको छ ।

काठमाडौंका ११ स्थानीय तहबाट कार्यान्वयन हुने गरी २०० परियोजना छनोट गरेका छन् । यसमध्ये अधिकांश परियोजना २५ लाख रुपैयाँका छन् । यो हिसाबले कम्तीमा पनि थप ५ करोड रुपैयाँ थप विनियोजन भएको देखिन्छ ।

रुपन्देहीमा संघीय रूपमा कार्यान्वयन हुने गरी ७५ वटा आयोजनामा २ अर्ब ४४ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । लुम्बिनी प्रदेश सरकारबाट कार्यान्वयन हुने गरी ३ वटा परियोजनामा २ करोड ८५ लाख छुट्याउँदा स्थानीय तहलाई १७ वटा परियोजना पारिएको छ ।

सहरी उत्थानशीलता तथा जीवनयापन सुधार कार्यक्रमको नाममा रुपन्देहीको तिलोत्तमालाई ४१ करोड, देवदहलाई ४१ करोड, लुम्बिनी सांस्कृतिक नगरपालिकालाई ४२ करोड २१ लाख, सिद्धार्थनगरलाई ४५ करोड र सैनामैनालाई ४१ करोड गरी कुल २ अर्ब ११ करोड रुपैयाँ थप बजेट दिएको देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.