
विराटनगर । महेन्द्र चोकको पूर्वपट्टि एउटा रुख छ, जसको छहारीमा बटुवाहरू थकाई मेट्छन् । अहिले ठूलो भएपछि धेरैको छहारी बनेको छ । सानो बिरुवाको रुपमा हुँदा त्यसलाई कसैले वास्ता गरेका थिएनन् । बटुवा थकाइ मार्ने, जाने गर्थे ।
सदानन्द साहले भने त्यही छहारीलाई आफ्नो उद्यम थलो बनाए । गर्मीमा आइसक्रिम र कुल्फी, जाडोमा पुच्का र चटपटे । रुखमुनि उनले गर्ने व्यवसाय यही हो । गर्मीका बेला रुखको छहारीले यसै पनि सबैलाई लोभ्याउँछ, त्यसमाथि चिसो खानेकुराको व्यापार ।
छहारीको शीतलसँगै चिसो खानकुरा खान ग्राहक आउन थाले । सुरुमा फाट्टफुट्ट आउँथे अचेल भीड नै लाग्छ । समय क्रममा सदानन्दको व्यापारले धेरै ग्राहकको मन जित्न थाल्यो ।
रुखको छहारीमा विश्राम गर्दै सदानन्दले बेच्ने आइसक्रिमको मिठाससँगै जीवनका अनुभव साट्छन् बटुवाहरु ।
नियमित आउने ग्राहकहरु र सदानन्दबीच अचेल त एक खाले साइनो जस्तो बनेको छ । सम्बन्ध प्रगाढ बनेको छ । बजारतिर आउँदा उनीकहाँ निस्किएर केही न केही खाने गर्छन् पाखरीहरु । यो सबैको साक्षी बनेको छ रुख ।
विराटनगर–१०, शान्ति चोकमा जन्मिएका सदानन्द अभाव र संघर्षका बीच हुकिएका हुन् । बाल्यकालमा अरू साथीहरू कार्टुन चलचित्र हेर्थे । उनी आफ्नै सपनाको संसारमा हराइरहेका हुन्थे । बाबुको अभावले भरिएको जीवनमा रंगीन भविष्यको कल्पना गर्दै हुन्थे ।
उनी अहिले ३० वर्षका छन् । ब्याचलर तह उत्तीर्ण गरेका छन् । इच्छा भएर पनि सरकारी जागिर पाउने सपना अधुरै रह्यो । लोकसेवाको तयारी गरे, परीक्षामा सहभागी भए, तर सफल भएनन् । त्यसपछि उनले आफ्नो शैक्षिक प्रमाणपत्र थन्क्याएर रोजे आफ्नै श्रम र इमानदारीको व्यवसाय ।
‘मैले ब्याचलर सकेको छु नि,’ उनले भने, ‘सरकारी जागिरको सपना थियो, परीक्षा पनि दिएँ, सफल भइन, अनि यो व्यापार सुरु गरेँ ।’ उनी मौसम अनुसार व्यापार परिवर्तन गर्छन् । जाडोमा पानी पुरी र चटपटे, गर्र्मीमा आइसक्रिम बिक्री गर्छन् ।
यही व्यवसायबाट उनले ६ जनाको परिवार चलाइरहेका छन् । कुनै समय उनी वैदेशिक रोजगारीको सपना बोकेर दुबई पनि पुगे । त्यहाँ महिनाको ९ सय दिराम तलब थियो । खर्च कटाएर घर पठाउने केही बाँकी रहँदैनथ्यो । त्यही भएर ६ महिनामै फर्किए । ‘विदेशमा धेरै खट्नु पर्थ्यो, तर बचत खासै हुन सकेन’ उनले भने, ‘फर्किएर ठेला थापेँ ।’
सदानन्द दैनिक १५ सयदेखि ३ हजारसम्मको कारोबार गर्छन् । महिनामा सबै खर्च कटाएर १० देखि १५ हजारसम्म बचत हुने गरेको उनी बताउँछन् । सीप र इच्छाशक्ति भए नेपालमै पनि थुप्रै अवसर भेटिने उनको विश्वास छ ।
अरुले हेर्दा सानोतिनो काम भन्लान् तर उनलाई त्यस्तो लाग्दैन । लगानीका हिसाबले ठूलो पनि होइन तर त्यसमा उनको मेहनत पनि मिसिएको हुन्छ । त्यसैले उनलाई आफ्नो व्यवसायबाट सन्तुष्टि मिलेको छ ।
‘बाहिर धेरै दुःख छ’ उनी भन्छन्, ‘केही न केही सीप सिकेर यतै इमानदार भएर मेहनत गर्ने हो भने जीवन चल्छ ।’

























