विराटनगर । कोशी प्रदेशमा वर्षा याम सुरु भएसँगै सर्पको टोकाइबाट बालबालिकाको ज्यान जाने घटना दोहोरिन थालेको छ । पछिल्लो मोरङका विभिन्न स्थानमा सर्पदंशका कारण दुई बालिकाको मृत्यु भएको छ ।
घटना १
२०७८ असारमा मोरङको जहदा गाउँपालिका–२, भीमपुर बेरियामा ८ वर्षीया चाँद मुर्मूको सर्पले टोकेर ज्यान गएको थियो। राति २ बजे पिसाब गर्न बाहिर निस्किएकी चाँदलाई घरको आँगनमै सर्पले टोकेको थियो। गम्भीर अवस्थामा विराटनगरस्थित कोशी अस्पताल ल्याइए पनि बिहान ४:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटना : २
२०८२ जेठ २९ गते बेलबारी नगरपालिका–५ मा ८ वर्षीया सन्ध्या रायमाझी सुतिरहेको अवस्थामा सर्पको टोकाइमा परिन् । उनलाई तत्काल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यी घटनाहरू प्रतिनिधिमूलक मात्र हुन् । वर्षा सुरु भएसँगै विशेषतः तराईका ग्रामीण क्षेत्रमा सर्पदंशको जोखिम अत्यधिक बढ्ने विज्ञहरू बताउँछन् । उपचारको अभाव र झारफुकमा सीमितता कारण जनधनको क्षति बेहोर्नुपर्ने समेत उनीहरूको भनाई छ ।
सर्प अनुसन्धान केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष सयौँ मानिस सर्प दंशको कारण ज्यान गुमाउँछन् । धेरैले समयमै अस्पताल नपुग्दा वा झारफुकमा भर परेर ज्यान गुमाइरहेका छन् ।
उपचार केन्द्रको अनुसार कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, र उदयपुर जिल्लामा विभिन्न सर्प दंश उपचार केन्द्रहरू सक्रिय छन् । सुनसरीको इटहरीस्थित सामुदायिक सर्प दंश उपचार केन्द्रमा २०६६ देखि २०८२ जेठ ३० सम्म ३५ हजार ७७५ जनाले उपचार लिएका छन् ।
सबैभन्दा बढी २०७२ मा २५०७ जनाले सेवा लिएका थिए भने २०७९ मा सबैभन्दा कम २०३ जनाले मात्र उपचार गराएका थिए । २०७८ मा २३७८ जनाले र २०८० को वैशाख–जेठ अवधिमा ३०० जनाले उपचार लिएको केन्द्रका तथ्याङ्कमा उल्लेख छ। केन्द्रका अनुसार महिलाभन्दा पुरुष बिरामीको सङ्ख्या बढी छ।
नेपालमा पाइने सर्पहरू
विषालु – कमन कोब्रा, कमन क्रेट, अहिरयो पिट भाइपर, पहाडी पिट भाइपर
विष नहुने सर्प – ग्यालेक्सी ऐशोडिया, धामन, पानी सर्प, लाचे एन गिल्डिङ
‘श्रोत नेपाल सर्प अनुसन्धान केन्द्र तथा बिन कार्यालय’
सर्पले टोकेको कसरी थाहा पाउने ?
-टोकेको स्थानमा मिस दन्तका छाप
-श्वासप्रश्वासमा कठिनाइ
-रिँगटा, बेहोस, मुख सुक्ने
-थुक निल्न गाह्रो हुने
-छालाको रङ्ग बदलिने
-शरीर सुन्निने
-सर्पले टोक्दा प्राथमिक उपचारमा ध्यान दिने
विज्ञहरूका अनुसार सर्पले टोको खण्डमा टोकेको भाग चलाउन नदिने, विषका लक्षणहरू धेरै चाँडो फैलिने हुनाले प्रेसर ब्इाण्डेज प्रयोग गर्ने , कसिने खालका डोरीले नबाँध्ने, जति सक्दो चाँडो उपचारका लागि एन्टि स्नेक भेनम सिरम तथा दक्ष चिकित्सक भएको अस्पतालमा लैजाने ।
सर्पले टोकेको भागमा पोटास तथा अन्य रासायनिक हाल्न नहुने र सर्पले टोकेको औषधि नै एन्टि स्नेक भेनम सिरम भएकाले यसको उपचार जहा त्यही नहुने भएकाले सर्पले टोकेको बिरामीलाई सर्प दंश उपचार केन्द्रमा लग्न विशेषज्ञको सुझाव छ ।
उनीहरूको भनाइ अनुसार वर्षा याममा सर्पको गतिविधि बढ्ने भएकाले जोखिम उच्च हुन्छ। त्यसैले सर्पको टोकाइ भएमा तत्काल नजिकको सर्प दंश उपचार केन्द्र वा अस्पतालमा पु¥याउन ढिला गर्नु हुँदैन। समयमै उपचार प्राप्त भए अधिकांश ज्यान बचाउन सकिन्छ ।