
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगिता ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’ सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ ।
असार २ गतेदेखि ५ गतेसम्म हुने प्रतियोगिता ७२ होलको हुनेछ । ३६ होलपछि कट लागू हुने नियम रहेको छ । कट बनाउने शीर्ष २१ प्रोफेसनल खेलाडीहरू ( टाइ परेमा हो समेत ) तथा त्यही स्कोर बनाउने एमेच्योर खेलाडीहरूले अन्तिम २ राउन्डका लागि स्थान बनाउने छन्, नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले भने ।
४ दिने प्रतियोगितामा ३८ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशिका लागि दाबेदारी प्रस्तुत गर्ने छन् । साथै प्रतियोगितामा १५ जना उत्कृष्ट एमेच्योर खेलाडीहरू पनि प्रतिस्पर्धा गर्ने छन् ।
विजेताले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौँ हुनेले ९२ हजार रुपैयाँ हात पार्ने छन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्ने छन् ।
सिजनभर उत्कृष्ट प्रदर्शन गर्दै ३ उपाधि जितेर ७ लाख ४२ हजार ५ सय नगद पुरस्कार पाएका नीरज तामाङ जारी सिजनको अर्डर अफ मेरिटकप शीर्ष स्थानमा छन् । तोरण शाही ( ४ लाख ९ हजार ५ सय ) दोस्रो र भुवन नगरकोटी ( ३ लाख ६४ हजार ५ सय ) तेस्रो स्थानमा छन् ।
भारतमा प्रोफेसनल गल्फ टुर खेलिरहेका शुक्रबहादुर राई र सुवास तामाङले यस पटक पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । एमेच्योरतर्फ यो सिजनमा उपाधि जितेका सद्भाव आचार्य र राहुल विश्वकर्मा तथा भुटानका शीर्ष एमेच्योर निम दोर्जी तामाङले प्रो गल्फरहरूलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।
४ दिने प्रतियोगितापछि असार ७ गते प्रो–एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १ सय जना कर्पोरेट स्तरका एमेच्योर खेलाडीले भाग लिने छन् ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले भने, ‘यो सिजनको अन्तिम प्रतियोगिता नेपाली गल्फ इतिहासमै सबैभन्दा ठुलो पुरस्कार राशिसहित हुँदैछ । खेलाडीहरू निकै जोशमा छन् । उनीहरू सिजनलाई सफलतापूर्वक टुङ्ग्याउन तत्पर छन् ।’



















