
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४ –२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगिता ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’ को पहिलो दिन रवि खड्का शीर्ष स्थानमा रहेका छन् ।
५– अन्डर ६७ को स्कोरमा रविले डिफेन्डिङ च्याम्पियन सुवास तामाङलाई १ स्ट्रोकले पछि परेका छन् । सुवास ४– अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे ।
३– अन्डर ६९ को नतिजामा २ एमेच्योर निम दोर्जी तामाङ र राहुल विश्वकर्मा तथा प्रो गल्फरद्वय भुवन नगरकोटी र धनबहादुर थापाले संयुक्त रूपमा तेस्रो स्थान बाँडे ।
२– अन्डर ७० स्कोर गरेका नीरज तामाङ र विष्णुप्रसाद शर्मा संयुक्त रूपमा ७ औँ स्थानमा छन् । १– अन्डर ७१ स्कोर गरेका दीपक मगर, राम कृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपले ९ औँ स्थान बाँडे ।
पूर्व नम्बर १ गल्फर रविले छैटौँ देखि नवौँ होलसम्म लगातार ४ बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४– अन्डर ३२ मा सकाए । यसपछि ब्याक नाइनमा उनले १२ औँ र १७ औँ होलमा १–१ सट बचाए । १३ औँ होलको बर्डीले ब्याक नाइन १– अन्डर ३५ मा पूरा गरे ।
सुवासले फ्रन्ट नाइन १– ओभर ३७ मा सकाए । छैटौँ होलमा बर्डी प्रहार गरे पनि पाँचौँ र सातौँ होलमा १–१ सट खेर फाले । उनले ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन गरे । बोगी रहित ब्याक नाइन खेल्ने क्रममा १० औँ, १२ औँ र १६ औँ होलमा बर्डी प्रहार गरे । ५– पारको १५ औँ होलमा इगलको सफलता हात पारे ।
एमेच्योरतर्फ भुटानका निम दोर्जी र नेपालका राहुल संयुक्त रूपमा शीर्ष स्थानमा रहे । उनीहरूले ३– अन्डर ६९ को स्कोरमा वाङ्चेनलाइ २ स्ट्रोकले पछि पारे ।
निमले तेस्रो र सातौँ होलमा इगल प्रहार गरे । छैटौँ होलमा १ सट बचाए । पहिलो र आठौँ होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन ३– अन्डर ३३ मा पूरा गरे । यसपछि ११ औँ र १४ औँ होलमा बर्डी तथा १५ औँ र १८ औँ होलमा बोगी खेपे । ब्याक नाइन इभन –पार ३६ खेले ।
राहुलले फ्रन्ट नाइन १– अन्डर ३५ तथा ब्याक नाइन २– अन्डर ३४ मा सकाए । उनले कूल ५ बर्डी र २ बोगी प्रहार गरे । वाङ्चेनले १–अन्डर ७१ स्कोर गरे । वाङ्चेनले सातौँ होलमा ४ सट खेर फाले । उनले ६ बर्डी प्रहार गर्दा एक बोगी खेपेका थिए ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित ४ र दिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशिका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
विजेताले उपाधिसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौँ हुनेले ९२ हजार रुपैयाँ हात पार्ने छन् ।
शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्ने छन् । साथै प्रतियोगितामा १८ जना एमेच्योर खेलाडीहरू पनि प्रतिस्पर्धा गरिरहेका छन् ।
४ दिने प्रतियोगितापछि असार ७ गते शनिबार प्रो–एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १ सय जना कर्पोरेट स्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।



















