
काठमाडौं । नेपालले स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी २० आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीबाट ९८ रनको सामान्य लक्ष्य प्राप्त गरेको छ ।
नेपालले टस जितेर पहिलो फिल्डिङ गर्दै स्कटल्यान्डलाई ब्याटिङको मौका दिएको थियो । पहिलो ब्याटिङ थालेको स्कटल्यान्ड नेपाली बलरका सामु चल्न सकेनन् ।
नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्यान्ड १९ ओभर ४ बलमा ९७ रनमै अलआउट भयो । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिए ।
सन्दीपले पावरप्लेमा अन्य बलरले गरेको बलिङ प्रदर्शनलाई सुखद अन्त्य गराएका थिए ।
स्कटल्यान्डका लागि माइकल लिस्कले सर्वाधिक रन जोड्दै सम्मानजनक योगफलसम्म पुर्याए । अन्तिम ओभरमा दीपेन्द्रबाट बोल्ड हुनुअघि लिस्कले ४६ बलमा ४४ रनको योगदान दिए ।
नेपालले सुरुवाती ५ ओभरमै ५ विकेट लिएको थियो । पहिलो ओभरको अन्तिम बलमा दीपेन्द्रले बायाँ हाते ओपनर मार्क वाटलाई बोल्ड गरे ।
लगत्तै अर्को ओभरको तेस्रो बलमा जर्ज मुन्से करणको बलमा दीपेन्द्रबाट क्याच आउट भए । यो करण केसीको १ सयौँ टी २० आई विकेट पनि थियो । लगत्तै अर्काे बलमा लियाम नेलर लोकेश बमको थ्रोमा रन आउट भएपछि स्कटल्यान्ड १० –३ को अवस्थामा पुग्यो ।
चौथो ओबरको चौथो बलमा करणले फिन्ले मक्रिथलाई पनि क्याच आउट गराए ।
पाँचौँ ओभरमा ललित राजवंशीले ब्रेन्डन मक्मलेनको विकेट लिएपछि घरेलु टोली २४–५ को दयनीय अवस्थामा पुग्यो ।
पाँचौँ विकेटका लागि माइकल लिस्क र कप्तान म्याट क्रसले संयमित ब्याटिङ गर्दै ३९ रनको साझेदारी गरे । तर, १३ औँ ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले कप्तान क्रसलाई १५ रनमा बोल्ड गरे ।
लगत्तै क्रिस मक्ब्राइडलाई पहिलो बलमै बोल्ड गर्दै सन्दीपले लगातार विकेट लिए । उनले उक्त ओभरमा मेडन समेत राखे ।
स्कटल्यान्डको आठौँ विकेट पनि सन्दीपकै नाममा रह्यो । उनले १७ औँ ओभरमा सफियान सरिफलाई गुगली फ्याँक्दै एलबीडब्लु धरापमा परे । सरिफले १४ बलमा ६ रन बनाएका थिए ।
त्यसको २ बलपछि नै उनले ज्याक जार्भिसलाई बोल्दै गर्दै स्कटल्यान्डलाई ८१–९ को स्थितिमा पुर्याए । नेपालका लागि करण र दीपेन्द्रले २–२ तथा ललितले १ विकेट लिए ।
आज नेपाल सिरिजको पहिलो जितको खोजीमा छ । सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।
यता, स्कटल्यान्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । अंक तालिकामा स्कटल्यान्ड २ अंकसाथ शीर्ष स्थानमा छ । नेपालले भने खाता खोल्न बाँकी छ ।



















