
विराटनगर । मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै कर्मचारीहरु आन्दोलित बनेका छन् ।
कार्यालय प्रमुख राजन पोखरेलमाथि जेठ २२ बिहीबार दिउँसो हातपात भएको थियो । कराँते खेलसँग आवद्ध एक समूहले काम गरिरहेका बेला कार्यकक्षमा प्रवेश गरेर पोखरेललाई अपशब्द प्रयोग गरी गालीगलौज र हातपात गरेको हो । कार्यालय प्रमुख पोखरेलले कराँते खेलका राम लिम्बूको नेतृत्वमा आएका चन्द्र पराजुलीलगायतले आफूलाई आफ्नै कार्यकक्षमा हातपात गर्दै अपशब्द प्रयोग गरेको बताए ।
‘राम लिम्बूलगायतले एउटा निवेदन ल्याएर जबरजस्ती दर्ता गर्न दबाब दिएका थिए । मैले त्यो दर्ता गर्न सक्ने अवस्था थिएन । अध्यक्षसँग कुरा गरेर तोक लगाएपछि मात्रै दर्ता हुन्छ भनेपछि उनीहरुले हातपात र गालगालौज गर्दै दुव्र्यवहार गरे,’ उनले भने । १५ औं राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिताअन्तर्गतको कराँते खेल नियमविपरीत अरुलाई आयोजनाको जिम्मा दिएको र खेलाडीलाई खेल्नबाट वञ्चित गराएको आरोप लगाउँदै कार्यालय प्रमुख पोखरेलमाथि हातपात गरिएको थियो ।
लिम्बूको समूहले प्रतियोगिता आयोजनाको जिम्मा पाउने आधिकारिक संस्था आफ्नो हुँदाहुँदै अन्य व्यक्ति र समूहलाई दिएको भनेर विरोध गर्दै आएको थियो । त्यो समूहले प्रतियोगिता कराँते संघ बाहिरका व्यक्तिलाई दिइएको र प्रतियोगितामा आफ्ना केही खेलाडीलाई खेल्नबाट वञ्चित गराएको भन्दै निवेदन दर्ता गराउन दबाब दिएको थियो ।
तर, कोशी खेलकुद विकास बोर्डले यसअघि नै कराँते महासंघ विघटन गरेर तदर्थ समिति बनाउँदै त्यो समितिलाई प्रतियोगिता आयोजना र खेलाडी छनोटको जिम्मा दियो । लिम्बूको समूहले ल्याएका केही खेलाडीले खेल्नु नियमविपरीत हुने भएको हुँदा उनीहरुलाई खेल्न नदिएको बताइएको छ । उनीहरुको उमेर हद र जन्मदर्ता पनि फरक–फरक रहेको भेटिएको खेलकुद कार्यालयले जनाएको छ ।
जिल्ला खेलकुद विकास समिति मोरङले लिम्बूसहित ३ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कानुन बमोजिमको कारबाहीका लागि निवेदन दर्ता गराइसकेको छ । कार्यालय समयमै कार्यकक्षमा पुगेर कार्यालय प्रमुखमाथि हातपात र गालीगलौज गर्नेलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेर लिखित निवेदन दिएको धेरै दिन भइसक्दा पनि उनीहरु पक्राउ परेका छैनन् ।
हातपातमा संलग्नलाई कारबाहीको दायरमा नल्याइएपछि चरणवद्ध रुपमा आन्दोलनको घोषणा गरिएको मोरङ जिल्ला खेलकुद विकास कर्मचारी संघका अध्यक्ष प्रकाश मल्ल र राष्ट्रिय खेलकुद परिषद् केन्द्रीय कर्मचारी संघका सदसय प्रवीनकुमार रानामगरले जानकारी दिए । उनीहरुका अनुसार जेठ २२ गते कराँते खेलमा आवद्ध रामबहादुर लिम्बूलगायतका व्यक्तिहरु कार्यालयमा प्रवेश गरी कार्यालय प्रमुखलाई हातपात, गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएर हिँडेका थिए ।
यस बारेमा तत्कालै प्रहरी प्रशासनलाई लिखित जानकारी गराउँदा पनि घटनामा संलग्नलाई हालसम्म पक्राउ नगरिएकाले आन्दोलन गर्नु परेको उनीहरुको भनाइ छ । पक्राउ गरेर कारबाहीको दायरामा नल्याएसम्म आन्दोलन नरोक्ने घोषणा गरिएको छ ।
आन्दोलनको पहिलो दिन आइतबार कालो पट्टी बाँधेर २ घण्टा कार्यालयको कामकाज ठप्प पार्दै धर्ना दिइएको छ । सोमबार ४ घण्टा, १० गते ६ घण्टा कार्यालयको कामकाज ठप्प पार्ने घोषणा गरिएको छ ।
असार ११ गतेबाट कार्यालयमा चाबी लगाइ अनिश्चितकालीन कार्यालय बन्द गर्ने घोषणा गरिएको छ । घटनाका सम्बन्धमा कर्मचारी संघको केन्द्र र प्रदेशका सम्पूर्ण जिल्ला खेलकुद कार्यालयहरुमा जानकारी गराइएको जानकारी मल्लले दिए ।



















