
विराटनगर । सुनसरीको तरहरास्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले चौथो एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
पोखरिया युथ केयर एकेडेमीले विराटनगरमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा तरहराले टंकीसिनवारीको जेभियर्स बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा थालेको हो ।
तरहराका लागि साहिल गिरी, नितेश अधिकारी र संगम दर्जीले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको प्लेयर अफ द म्याच तरहराका संगम दर्जी भए ।
प्रतियोगिताको उद्घाटन युवा उद्यमी तथा उद्योग संगठन मोरङका सदस्य प्रतीक राउतले गरेका थिए । त्यस अवसरमा विराट मेडिकल कलेजका डाक्टर निकिता कार्की, पूर्व फुटबल प्रशिक्षक सन्तोष बानियाँ, मोरङ जिल्ला फुटबल संघका महासचिव बिनेश बस्नेतलगायतले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।
प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेल विराटनगरको जनपथ मावि र देवकोटा बोर्डिङ स्कुल, दोस्रो खेल विराटनगरको गोदावरी बोर्डिङ स्कुल र डनबस्को बोर्डिङ स्कुल, तेस्रो खेल विराटनगरको आदर्श मावि र झोराहाटको शारदा मावि तथा चौथो खेल विराटनगरको केएमसी र गोग्राहा माविबीच खेल हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए ।
असार २० गतेसम्म हुने प्रतियोगितामा मोरङ र सुनसरीका ३० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको छ ।



















