विराटनगरको नोबेल अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १०, मंगलबार ११:३७

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको छ ।

इलाम घर भएकी ३९ वर्षीया लामा थरकी महिलाको मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए । उनका अनुसार लामालाई उपचारका लागि मंगलबार बिहान ४ः२० बजेतिर अस्पतालमा भर्ना गरिएको थियो ।

Advertisement

अस्पतालको आकस्मिक कक्षमै बिहान ६ बजेतिर मृत्यु भएको राईले बताए । ‘उपचारका लागि ल्याउँदा नै अवस्था गम्भीर थियो । थप उपचार गर्न नपाइकन आकस्मिक कक्षमै मृत्यु भएको हो,’ उनले भने ।

मृतकलाई श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउनेलगायतका समस्या देखिएपछि सोमबार झापा बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । अवस्था गम्भीर बनेपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो ।

शवलाई प्रहरीको जिम्मा लगाइएको जानकारी नोबेल अस्पतालका प्रबन्धक राईले दिए । इलाम प्रहरीसँग समन्वय गरी नियम बमोजिम प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइसकिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।

पछिल्लो समय कोरोना संक्रमण फैलने क्रममा रहेकाले सबैले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । कोरोना फैलान थालेपछि प्रहरीले जनचेतना फैलाउने काम गरिरहेको जानकारी डीएसपी चुँडालले दिइन् ।

कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित फेला पर्न थालेका छन् । हालसम्म मृतकबाहेक ८ जनामा संक्रमण पुष्टि भइसकेको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण खरेलले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन् । कोरोना संक्रमण फाट्टफुट्ट रूपमा देखिन थालेकाले नियन्त्रणका लागि प्रदेश सरकारले काम गरिरहेको खरेलले बताए ।

‘सुरक्षाका उपाय अवलम्बन गर्दै कोरोना नियन्त्रण गर्न र थप फैलन नदिन सार्वजनिक सूचना जारी गर्ने लगायतका विभिन्न कामहरु प्रदेश सरकारले गरिरहेको छ । सबै पक्षसँग समन्वय र सहकार्य गरेर जिल्ला अस्पताललगायतका स्वास्थ्य संस्थाहरुलाई ‘अलर्ट’ गराइसकिएको छ । संक्रमणबाट जोगिनलाई सावधानी अपनाउनु नै सबैभन्दा उत्तम उपाय हुन्छ,’ जनस्वास्थ्य अधिकृत खरेल भन्छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.