कर्मचारीले गरे खेलकुद कार्यालयमा तालाबन्दी

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ११, बुधबार १७:२५

विराटनगर । मोरङ जिल्ला खेलकुद विकास समितिको कार्यालयमा कर्मचारीहरूले बुधबारदेखि अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् ।

खेलकुद कार्यालय प्रमुख राजन पोखरेलमाथि भएको हातपात र गालीगलौज गर्ने समूहलाई कारबाही नभएको भन्दै मोरङ जिल्ला खेलकुद विकास कर्मचारी संघले कार्यालयमा माग पूरा नभएसम्मका लागि तालाबन्दी गरेको जनाएको छ ।

जेठ २२ गते कराँते खेल आबद्ध राम लिम्बूसहित ३ जनाको टोलीले कार्यालय प्रमुख पोखरेललाई हातपात, गालीगलौज गर्दै ज्यान मार्ने धम्की कर्मचारी संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

घटना लगत्तै खेलकुद कार्यालयले जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालयमा लिखित रूपमा शान्ति, सुरक्षा गरी लिम्बूसहितको टोलीलाई कारबाहीका लागि पत्र पठाए पनि हालसम्म सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेको भन्दै बुधबार (आज) बाट माग पूरा नभएसम्मका लागि कार्यालयमा तालाबन्दी गरेको बताइएको छ ।

घटनाका बारेमा सम्बन्धित कार्यालयमा विभिन्न समयमा ध्यानाकर्षण गराएको बताउँदै, कर्मचारी संघ मोरङका अध्यक्ष प्रकाश मल्लले भने, ‘घटनामा संलग्नलाई कारबाहीको दायरमा नलाएको हुँदा कार्यालयमा बसेर काम गर्न सक्ने अवस्था नभएकाले तालाबन्दी गर्नु परेको हो । हामीहरूले यसअघि नै प्रहरी, प्रशासनलाई माग पूरा नभए कार्यालयमा आजदेखि तालाबन्दी गर्ने जानकारी दिइसकेको थियौँ । कार्यालयको प्रशासनिक भवनमा मात्रै तालाबन्दी भएको र अन्य प्रशिक्षणको काम भइरहेको छ ।’

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले विज्ञप्ति जारी गर्दै मोरङ जिल्ला खेलकुद विकास कर्मचारी संघको आन्दोलनमा ऐक्यबद्धता रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.