नबिर्सनोस् !

मुलुकी खबर
स्वप्निल स्मृति 
clock२०८२ असार १४, शनिबार १२:०२

सम्झनोस्, हामी पनि उहिले केटाकेटी थियौँ !

हाम्रो पनि मन
मंसिर महिनाको आकाश जस्तै सफा थियो ।
हाम्रो जीवन,
बेदाग हिमालमुनि,
शारदी हावामा तैरिरहेको 
सुकिलो रुमालको दफा थियो । 

सम्झनोस्, हामी पनि उहिले केटाकेटी थियौँ !

नबिर्सनुहोस् !
हामी केटाकेटी नभएको भए गीत हुँदैनथ्यो,
फूल, पुतली अनि रंगहरू फिका-फिका हुन्थे,
सारा ताराहरू एकै गाँठो पर्थे,
आँधी हुरी, झरी वर्षा लाटो हुन्थ्यो,
घर, आँगन र भान्सा घर मुर्दा घाट बरोबर हुन्थे,
स्कुल, मन्दिर र पार्क ठाउँको ठाउँ किरिया घर हुन्थे,
सम्झनोस्, केटाकेटी छन् 
र संसार छ
जीवन छ !
अविच्छिन्न सृष्टिका अखेटा केटाकेटी हुन्
अन्योन्याश्रित स्वतन्त्रताका पखेटा ‘केटा’ र ‘केटी’ हुन् ।

नबिर्सनु पर्ने हो
सम्झनोस् !
हामी पनि उहिले केटाकेटी थियौँ !
केटाकेटी हुनु
समानताको पक्षपाती हुनु हो,
एक टुक्रा चुइगम पनि पित्को-पित्को बाँडिखान्छन्
संसारकै सरल भाषा
संसारकै उन्नत विचार
कसैसँग हुन्छ भने केटाकेटीसँग हुन्छ
कमिला, सिन्का, ओखर पाङ्ग्राले पनि 
केटाकेटीको हृदयको गहिरो आवाज सुन्छ

सम्झनोस्, हामी पनि उहिले केटाकेटी थियौँ !

कुनै कुण्ठा छैन
घृणा, द्वेष छैन
को महिला को पुरुष ?
को धनी को गरिब ?
को ठुलो को सानो ?
केही केही थाहा नहुनुको सुख केटाकेटीसँग हुन्छ

सम्झनोस्, हामी पनि उहिले केटाकेटी थियौँ !

सिक्नलाई केटाकेटीभन्दा अर्को विश्वविद्यालय छैन
फूल जतिकै कोमल
जल जत्तिकै निश्चल
सङ्गीत जत्तिकै प्राञ्जल
बतास जत्तिकै चञ्चल 
प्रेमले पनि प्रेम गर्न सिक्छ केटाकेटीसँग  !

कमजोर होइनन् 
केटाकेटी 
क्रूरताको विष नलागेका निक्खुर आत्मा हुन् 
निक्खुर आत्मालाई कहिल्यै नरुवाउनू
केटाकेटी रोएको दृश्य 
सबैभन्दा खराब हुन्छ
जब केटाकेटी फुत्रुक्क फुत्रुक्क चरा जस्तै नाच्छन्
अहा ! प्रकृति पूर्ण हुन्छ !

नबिर्सनोस् !
हामी हाम्रो विगतलाई 
केटाकेटीमार्फत मात्र प्राप्त गर्न सक्छौँ ।
सम्झनोस् !
हामी हाम्रो भविष्यलाई 
केटाकेटीमार्फत मात्र सुन्दर बनाउन सक्छौँ ।
०००

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.