
देउरालीमा सिन्दूरले रातै पोतिएर
फूलपातीले छ्याप्पै छोपिएर
एउटा ढुंगा देउता भएर बसेको छ।
देउता ढुंगा पनि हुन सक्छ
ढुंगा देउता पनि हुन सक्छ
मात्र विश्वासमा।
त्यही विश्वासमा
निर्बलहरू बल माग्दै ढुंगासामु माथा टेक्छन्
गरिबहरू धन माग्दै ऋण गरी बोका काट्छन्
दुःखीहरू सुख माग्दै रुई कराइ भाकल गर्छन्
विश्वास यति घाती छ कि !
नाथे एउटा ढुंगाले पनि
यसरी मान्छेको शोषण गर्छ।
०००



















