असफल प्रधानाध्यापकको सफल विद्यालय

Share this
733shares
मुलुकी खबर
कुबेरप्रसाद भेटवाल
clock२०८२ असार १४, शनिबार १५:३४

विद्यालयमा पाएको पद कुनै पदक थिएन । त्यो त जिम्मेवारीको एउटा भित्री भार थियो, जुन मैले स्वीकार त गरेँ । तर, कति भारी थियो भन्ने कुरा थाहा पाउन वर्षौं लाग्यो । जब विद्यालयको ढोका पहिलोपल्ट खोलेँ, त्यही ढोकासँगै खुल्यो मेरो अन्तर्मनको एउटा गहिरो प्रश्न, ‘के म यहाँ केही परिवर्तन गर्न सकूँला ? के म साँच्चै योग्य छु ।’

शिक्षक हुनु, अनि त्यो पनि नेतृत्वमा हुनु यो केवल तालिम वा डिग्रीको कुरा होइन रहेछ । त्यो त आत्मा, इमान, र दृष्टिकोणको कुरा रहेछ । मसँग धेरै प्रमाणपत्र थिएनन्, न त कुनै ठूलो भाषण गर्ने शैली नै । केवल एउटा चुपचाप बोकेको सपना थियो – विद्यालयलाई एउटा यस्तो ठाउँ बनाउने, जहाँ बालबालिकाहरू केवल परीक्षा दिन नआउन् । जीवन बाँच्न सिक्न आऊन् ।

तर, त्यो सपना देख्ने आँखाभन्दा बढी आवश्यक रहेछ -त्यो सपना पूरा गर्ने आँट । विद्यालयको हालत सोच्न पनि गाह्रो थियो । समयमै नखुल्ने स्कूल, टिनका छाना, च्यातिएका टाट, कुहिएका झ्याल, र पानी पर्दा पढाइ रोकिने अवस्थाले मलाई झस्कायो । शौचालयको दुर्गन्ध, पिउने पानीको अभाव, अनि स्रोतविहीन शिक्षणले बालबालिकाको आत्मसम्मानमा चोट गरिरहेको थियो । पुस्तकालय र ल्याब केवल बोर्डमा लेखिएको नाम थिए, प्रयोगमा होइन । त्यो विद्यालय भित्र थियो-एक किसिमको मौन पीडा, जसले कोही बोल्दैनथ्यो तर सबै भित्रभित्रै चुँडिएको थियो ।

शिक्षकहरू पनि थकित जस्तै देखिन्थे । कोही दलको झण्डामुनि लुकिरहेका, कोही गुटको सुरक्षा खोजिरहेका । शिक्षा कम, राजनीति बढी भइरहेको थियो । समुदाय विभाजित थियो । हरेक निर्णयमा मतभेद । त्यो विद्यालय जहाँ सपना पलाउनु पथ्र्यो, त्यहाँ त सपना सड्दै थिए ।

तर मैले चाल पाएँ-यदि परिवर्तन चाहिन्छ भने, सुरुवात मबाटै हुनुपर्छ । अनि मैले निर्णय गरें – अब गेट समयमै खुल्नेछ, चाहे कोही आए वा नआए । मैले नियमित उपस्थिति सुरु गरें । केही समयपछि मेरो मौन समयबद्धता अरूका लागि पनि सन्देश बन्न थाल्यो । मैले कसैलाई दोष नदिएँ, केवल आफूलाई सुधार्दै अगाडि बढें ।

पैसा थिएन । स्रोत थिएन । तै पनि एक–एक इँटा थप्दै शौचालय बनाएँ । समुदायलाई सम्वादमा ल्याएँ । खानेपानीको व्यवस्थापन गरें । सरसफाइ अभियान चलाएँ । अनि त्यही बिनाप्रचारका स–साना कामहरूले ठूलो रूप लिन थाले । शिक्षकहरूमा उत्साह पलाउन थाल्यो, अभिभावकहरू सहभागी हुन थाले । बच्चाहरू मुस्कानसाथ विद्यालय आउन थाले ।

विद्यालयमा टिनका छाना हट्दै गए, पक्की संरचना बन्दै गयो । ल्याबका सामान जुट्दै गए, पुस्तकालयमा किताब थपिंदै गए । सुन्दर फूलबारी र हरियाली वातावरणले विद्यालयलाई नयाँ पहिचान दियो । अनि त्योभन्दा ठूलो कुरा—शिक्षण अब पाठ्यपुस्तकमा मात्र सीमित रहेन, अब सिकाइ अनुभूतिको यात्रामा बदलियो ।

आज यो विद्यालय प्रविधिमा आधारित शिक्षण केन्द्र भएको छ । बालमैत्री वातावरणमा रमाएका अनुहारहरू देख्दा हिजोका पीडाहरू बिर्सिन लाग्छ । विद्यार्थी संख्या तीन गुणाले बढेको छ, शिक्षक संख्याले सिंगो टिम बनेको छ । प्रत्येक कोठा अब ज्ञानको दीप प्रज्वलित गर्ने थलो बनेको छ । विद्यालयको आफ्नै Vision, Mission, Goals 5G छन् – सपना अब गफ होइन, मार्गचित्र बनेको छ ।

यति सब परिवर्तन भए पनि, म भने अझै पनि ‘असफल प्रधानाध्यापक’ भनेर चिनिन्छु – सायद म धेरै बोलेर आफूलाई प्रमाणित गर्न सक्दिनँ, वा पुरस्कार मागेर चर्चा बटुल्न जान्दिनँ । तर, हरेक बिहान विद्यालयमा प्रवेश गर्दा जुन अनुहारहरू देख्छु — त्यहाँ उज्यालो छ, आशा छ, र भविष्य छ ।

मलाई ‘असफल’ भन्नेहरूको कुरा मन पर्दैन भन्ने होइन – तर त्यो शब्द मलाई फेरि फेरि सम्झाउँछ, कि मैले अझै धेरै गर्न बाँकी छ । म सायद ठूला पदकको धनी छैन, तर म बालकालिकाको उज्यालो आँखामा चम्किने एक सानो आशा हुँ ।

र अन्त्यमा, जब म विद्यालयको बगैंचाबाट हेर्छु – फूलहरू फुलेका छन्, पातहरू हल्लिएका छन्, र कक्षाबाट हाँसोहरू सुनिन्छन् — त्यसैबेला लाग्छ, म सफल छु कि होइन, त्यो महत्वको कुरा होइन ।
महत्वको कुरा यो हो-विद्यालय सफल भएको छ ।
र यही मेरो सबैभन्दा ठूलो पुरस्कार हो ।
०००

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.