
काठमाडौं । मलेसियामाथि हाबी हुँदै नेपाल यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । नेपालले बिहीबार मलेसियालाई ९ विकेटले हरायो ।
मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित लक्ष्य पूरा गरेको हो । जितसँगै साविक विजेता नेपाल उपाधिनजिक पुगेको हो ।
नेपालका लागि सर्वाधिक ५९ रनको अर्धशतकीय पारि खेल्दै परिमार्जन यादव अविजित रहे। उनले ३५ बलमा समान ५ चौका र ५ छक्का प्रहार गरेका थिए ।
अर्का ओपनर प्रसिद्ध जैशी २ रनमै क्याच आउट भए । तेस्रो क्रमका ब्याटर श्रीवान्श बजगाई २३ रनमा अविजित रहे। मलेसियाका लागि १ मात्र विकेट नागिनेश्वरन साथ्नाकुमारनले लिए ।
त्यसअघि, क्वालालाम्पुरस्थित सेलाङगोर ट्रफमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम मलेसिया ४३.१ ओभरमा ९१ रन बनाउँदै अलआउट भएको थियो । मलेसियाका लागि मोहम्मद फाथुलले सर्वाधिक ३८ रन बनाए ।
उनले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। उनलाई नेपालका कप्तान विपिन शर्माले ४३.१ ओभरमा प्रसिद्ध जैसीको हातमा क्याच गराउँदै मलेसियाको अन्तिम विकेट लिएका थिए । मलेसियाका कप्तान दिएज पात्रोले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
नेपालका लागि बलिङतर्फ अभय यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै शुभम खनालले ३ विकेट लिँदा सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माले समान १–१ विकेट लिए।
नेपालले दोस्रो सेमिफाइनलको विजेता टोलीसँग फाइनलमा प्रतिस्पर्धा गर्ने छ । दोस्रो सेमिफाइनलमा समूह ‘ए’को उपविजेता सिंगापुर र समूह ‘बी’को विजेता हङकङबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको फाइनल शनिबार हुने छ ।



















