हिजोआज मेरो कोठाको बारदलीबाट
हरेक दिन एक्लै ओइलाएर झर्छ एउटा साँझ र खस्छ अँध्यारोमा
बाहिर तारमा शीतको थोपो बनेर तुर्लुङ्ग झुन्डिरहन्छ – एउटा तेजस्वी बिहान
वर्षौंदेखि ज्ञानको खोजीमा लीन तपस्वीजस्तो – ध्यान मग्न छन् र्याकमा – तिम्रो स्पर्श नपाएका दिनहरू
तिम्रो सामीप्यको तृष्णामा मुर्झाएको छ, झ्याल छेउको गमलामा फक्रिन लागेको एउटा समय
उज्यालो दुलही लिएर आएको घामको बाटोलाई दैलोमै छेकिरहेको छ पुरानो पर्दाले
कपपोर्डको कुनामा गुम्सिरहेको छ कतै छुटिगएको तिम्रो टपको मदहोसी न्यानो पन
उस्तै छ – ल्याप्टपको किबोर्डमा खेलिरहने
तिम्रो औँलाका धुलाम्य छापहरू
उस्तै छ – ह्याङ्गरमा झुन्डिएको सर्टमा तिम्रो ओठले छाडी हिँडेका अटोग्राफहरू
म जस्तो तिमीले आधा पढेर र्याकमै छाडेको किताब छ
अझै त्यस्तै छ
तिमी जस्तो मैले प्रयोग गरेर छाडेको पुरानो स्टोभ अझै त्यस्तै छ
उसैगरी नै निसासिइरहेको छ खुसी र रोदनको मिश्रित उच्छ्वास सिरानी मुन्तिर
उसैगरी भिजाइरहेको छ तिम्रो तिर्सनाको चिसो बाछिट्टाले डसनाको केश
उसै गरी खुम्चिरहेको छ पलङमा हामीले घुमी हिँडेको तन्ना जस्तो पृथ्वी
अझै त्यस्तै छ – तिमी जस्तो विद्रोहको कर्कस आलाप गरिरहने पुरानो पंखा
म जस्तो पुरुषत्वको अहम बोकेर उभिएको रङ उडेको निर्जन भित्ता पनि – अझै त्यस्तै छ
काँटीमा झुन्डिएको क्यालेन्डरमा – अझै लमतन्न पल्टिरहेको छ – तिमीले छाडीहिँडेको दिन
डस्टबिनको छेउमा फ्याँकिएको टिस्युपेपरमा अझै गुजुमुज्ज तेर्सिएको छ – तिम्रो आँसुले कोरेको सुन्दर भविष्यको गोरेटो
ढोकाको छेउले तिम्रो प्रस्थानविरूद्दको आग्रहमा अझै अल्झाइरहेको छ – तिम्रो सम्झनाको रेसमी धागो
बेहोसीमै छन् साँझ र दिनलाई स्वाट्ट पिएर ढलेका केही बोतलहरू
अर्धमृत छन् तिम्रो आभासलाई कोठाभरी रिङ्गाइरहने केही थान चुरोटका ठुटाहरू
बितेका समयलाई भाग लगाएर पस्किएका रित्ता थाल, गिलास र भाँडाहरू त्यसै छन्।
त्यसै छन् तिम्रो अनुपस्थितिको एक्लोपनले हिर्काएर चर्किएका केही छरपस्ट सिसाका मुटुहरू
आँधीको जस्तो – एकान्त
हुरीको जस्तो – ठेहेराव उस्तै छ
झरीको जस्तो – सुख्खापन
प्रकाशको जस्तो – अन्धकार उस्तै छ
यो कोठामा तिमी गएदेखि
आज लामो समयपछि जिन्दगीबाट थाकेर आइपुगेको छु म आफ्नै कोठाभित्र
देख्छु हाम्रै सम्बन्ध जस्तो केही त
निदाइरहेको छ बिछौनामा
लामो समय भयो मैले उसलाई ब्युँझाउन सकेको छैन।
000