उहिले उहिले
घर–घरमा मालिक हुन्थे, दास हुन्थे !
टोल–टोलमा मुखिया हुन्थे, रैती हुन्थे !
आधुनिक मालिकहरू
‘प्रमोसन’ भएर सिंहदरबार पुगेका छन्
दासहरू रैती भएका छन्
रैतीहरू जनता भएका छन् !
आजभोलि मालिकहरू
मन्त्री कहलिन्छन्, सांसद कहलिन्छन्
‘स्ट्रक्चर’ उही छ
शासन र शोषणको प्रक्रिया फेरिएको छ !
मालिकहरूको प्रभुत्व उस्तै छ
जनजीवन सत्ताको गोडामुनि थिचेर
दास बनाइएको छ !
यहाँ सबथोक फेरिएको छ
तर, सबथोक उस्तै छ !
तर, आजभोलि
यी आधुनिक मालिकहरू
इतिहास बिर्सिएका छन्
उनीहरूलाई थाहा छैन
अत्याचारको चरम रेखाले
सधैँ पुकारिरहन्छ विद्रोह !
दासहरूको फेहरिस्तबाट
जन्मन्छन् स्पार्टाकस
जन्मन्छन् ग्लाडियटर ।
लड्छन् मालिकका विरुद्ध
उन्मुक्तिको युद्ध !
हुन सक्छ फेरि ‘दास विद्रोह’ ।
आधुनिक मालिकहरू
शाश्वत इतिहास बिर्सेका छन् !